सौल दक्षिण कोरिया,
हालै मध्यरातमा दक्षिण कोरियाको ग्योङ्गी प्रान्तस्थित इछोन सहरको एक सडकमा चलिरहेको गाडीलाई रोकेर चालकलाई धम्क्याएको घटनासँग सम्बन्धित एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ।
ग्योङ्गी दक्षिणी प्रहरी कार्यालयको विस्तारित अनुसन्धान टोली र इचोन प्रहरी स्टेशनले १७ तारिखमा विशेष धम्की लगायतका आरोपमा काजाकस्तानी नागरिकलाई आकस्मिक रूपमा पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
कामबाट फर्किदै गरेका एक कोरियन नागरिक जुलाई २९ तारिख राति करिब ११:४० बजे इछोन सहरको मा्जाङ-म्यन, हेवोल-रीस्थित एक सडकमा ३० वर्षीय पुरुष र उनका सहयात्री सवार कारले आफ्नो गाडीलाइ पछ्याएर रोकेको र गाडीको अगाडिको भागमा लात्ती हानी धम्की दिएको आरोपमा छन्।
त्यतिबेला पीडितको गाडीको ब्ल्याकबक्समा कैद भएको उक्त ब्यक्तको गाडीको नम्बर प्लेट खाली आँखाले वा राष्ट्रिय फरेन्सिक सेवाको जाँचबाट पनि पहिचान गर्न सकिएको थिएन। तर गत महिना पुनः अनुसन्धान सुरु गरेपछि ग्योङ्गी दक्षिणी प्रहरीको फरेन्सिक टोलीले गरेको सूक्ष्म विश्लेषणबाट नम्बरका केही अङ्क पत्ता लगाउन सफल भएको थियो।

प्रहरीले पत्ता लगाउन सफल भएको केही नम्बर र गाडीको प्रकारलाई मिलाएर सम्भावित गाडीहरूको सूची छोट्यायो, त्यसपछि स्थानीय सोधपुछ गरी धम्काउने व्यक्तिको गाडीको नम्बर यकिन गर्यो। त्यसपछि विदेशीहरूले कोरियामा बसोबासका बेला गाडी किनबेच गर्न प्रायः प्रयोग गर्ने सामाजिक सञ्जाल (SNS) खाताहरू पछ्याउँदै सो गाडी बिक्रीको पोस्ट र सम्पर्क नम्बर फेला पार्यो।
प्रहरीले फोन नम्बरका वास्तविक प्रयोगकर्ताको दैनिक गतिविधि क्षेत्र वरिपरिका सीसीटीभी आदिको विश्लेषण गरी पहिचान गर्न सफल भएको थियो । तीन दिनसम्म उनको गतिविधि पछ्याएपछि १६ तारिख साँझ करिब ८:२५ बजे आन्सोङ सहरमा साथीहरूसँग बेलुकाको खाना खाइरहेका बेला उनी पक्राउ परे। प्रहरी अनुसन्धानमा धम्काएका व्यक्तिले “अर्को विदेशीलाई गाडी बेच्न खोजेको तर सम्झौता नभएपछि फर्कने क्रममा पीडितको गाडीलाई खरिदकर्ताको गाडी ठानेर पछ्याएको” बयान दिएको बताइएको छ।
उनि संगै रहेका अर्का एक जनालाई अवैध बसोबास (अध्यागमन नियन्त्रण ऐन उल्लङ्घन) को आरोपमा पक्राउ गरिएको थियो र १३ तारिखमा जबरजस्ती देश निकाला गरिएको पुष्टि भएको छ।
प्रहरीले पक्राउ गरेका व्यक्ति विरुद्ध थुनुवा पुर्जी जारी हुनेबित्तिकै घटनाको सही विवरण र अन्य अपराधबारे अनुसन्धान गर्ने योजना बनाएको छ। साथै, पहिल्यै देश छाडिसकेका उनका साथी का हकमा रेड नोटिस लगायतका अन्तर्राष्ट्रिय न्यायिक सहयोग प्रक्रिया अघि बढाउने गरि कार्य गरिरहेको छ।