सोल। दक्षिण कोरियाको छेङ्जु (Cheongju) सहरमा एक भियतनामी डेलिभरी चालकलाई स्थानीय कोरियाली डेलिभरी चालकहरूको समूहले घेरेर जबर्जस्ती भिसा देखाउन लगाउन खोजेको र यस क्रममा कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कोरियाको राष्ट्रिय प्रसारण संस्था केबीएस (KBS) ले यो समाचार सार्वजनिक गरेको हो।
समाचारअनुसार गत अक्टोबर ९ मा छेङ्जुस्थित एक अपार्टमेन्ट कम्प्लेक्सको भूमिगत पार्किङस्थलमा घटना भएको थियो। उक्त चालक अवैध रूपमा काम गरिरहेका छन् कि भन्ने आशङ्कामा समूहले उनलाई घेरी पटक–पटक भिसा देखाउन दबाब दिएको बताइएको छ।
घटनाका क्रममा समूहले सोधेका थिए, “तिमीसँग भिसा छ?” उनले “छ” भनी जवाफ दिँदा समूहले “त्यसो भए देखाऊ” भनेको थियो। तर भिसा देखाउन बाध्य पार्ने अधिकार उनीहरूसँग नभएको भन्दै चालकले कागजात देखाउन अस्वीकार गरे र त्यहाँबाट निस्कन खोजे। त्यसपछि समूहले उनलाई पछ्याएको, धकेलेको र बाहिर जान नदिएको बताइएको छ।
विवादका बेला पीडितले “मलाई नछोऊ” भन्दै प्रतिवाद गरेका थिए भने समूहका केहीले “उसलाई समात” भनी चिच्याएका थिए। पीडितले “के तिमीहरू प्रहरी हौ?” भनी प्रश्न पनि गरेका थिए।
घटनामा उनको काँध र ढाडमा चोट लागेको छ र चिकित्सकका अनुसार निको हुन करिब दुई हप्ता लाग्नेछ। उनको मोबाइल फोन पनि क्षतिग्रस्त भएको छ।

पीडितसँग वैध भिसा
समाचारअनुसार ती चालकसँग वैवाहिक आधारमा दक्षिण कोरियामा बसोबास गर्न र कानुनी रूपमा काम गर्न अनुमति दिने एफ–६ (F-6) भिसा छ। केबीएससँगको कुराकानीमा स्थानीय डेलिभरी चालकहरूले डेलिभरी बजारमा प्रतिस्पर्धा बढेकाले उनले अवैध रूपमा काम गरिरहेका छन् कि छैनन् भनेर आफैँ जाँच गर्न खोजेको बताएका थिए।
कानुनी पक्ष
केबीएससँग कुरा गर्दै अधिवक्ता पार्कले सर्वसाधारण नागरिकलाई कसैलाई रोकेर जबर्जस्ती भिसा वा अध्यागमनसम्बन्धी कागजात देखाउन लगाउने अधिकार नहुने बताए। कसैलाई घेर्ने, धम्काउने, शारीरिक बल प्रयोग गर्ने वा बाहिर निस्कन नदिने कार्य परिस्थितिअनुसार कानुनविपरीत हुन सक्ने र संलग्नहरूले फौजदारी कारबाही भोग्नुपर्न सक्ने उनको भनाइ छ।
पीडितले घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न माग गर्दै प्रहरीमा औपचारिक उजुरी दिएका छन्।