काजाकिस्तानमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको सम्झनामा अजरबैजानले बिहीबार राष्ट्रिय शोक मनाएको छ।
अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाको कारण शङ्कास्पद रहेको र सम्भावित मिसाइल आक्रमणको संकेत देखिएको विशेषज्ञहरूले बताएका छन्।
‘एम्ब्रेयर १९०’ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको चेच्नियाको ग्रोज्नी शहरतर्फ उडान भर्ने क्रममा क्यास्पियन समुद्र पार गर्दै काजाकिस्तानको अक्टाउ नजिक दुर्घटना भएको थियो
दुर्घटनाको अनुसन्धान जारी छ। तर, केही उड्डयन र सैनिक विशेषज्ञहरूले उक्त विमान युक्रेनी ड्रोन गतिविधि भइरहेको क्षेत्रमा उडान गरेको हुँदा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट गल्तीवश खसालिएको हुनसक्ने अनुमान गरेका छन्।
काजाकिस्तानका संसद सभामुख मौलेन अशिम्बाएभले दुर्घटनाको कारणबारे गरिएको अडकललाई खारेज गर्दै हाल कुनै ठोस निष्कर्षमा पुग्न नसकिने बताएका छन्। रुसी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि अनुसन्धान समाप्त नभएसम्म कुनै निष्कर्ष ननिकाल्न आग्रह गरे।
तर, रुसी सैन्य विशेषज्ञ युरी पोडोल्याकाले विमानको भग्नावशेषमा देखिएका प्वालहरू हवाई प्रतिरक्षा मिसाइल प्रणालीबाट भएको क्षतिको संकेत गरेको बताए। फ्रान्सको एयर क्र्यास अनुसन्धान निकायका पूर्वविशेषज्ञ जेरार्ड लेगफ्रेले पनि भग्नावशेषमा “श्रेपनलको ठूलो क्षति” रहेको र यो सन् २०१४ मा मलेसियन एयरलाइन्सको एमएच १७ जस्तै देखिएको बताएका छन्।
अजरबैजान एयरलाइन्सले सुरुमा विमान चराहरूको समूहमा ठोक्किएको बताएको भए पनि पछि उक्त बयान फिर्ता लिएको थियो। विमानमा ६७ जना यात्रु र चालकदलका सदस्य थिए। काजाकिस्तानका उपप्रधानमन्त्री कनात बोझुम्बाएभका अनुसार दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ भने बाँकी २९ जना घाइते भएका छन्।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ। १२ जना बाँचेकाहरूलाई उपचारका लागि अजरबैजान पठाइएको छ भने ९ जना रुसी नागरिकलाई मास्कोस्थित जुखोभ्स्की विमानस्थलमा पुर्याइएको छ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलीएभले बिहीबार शोक दिवस घोषणा गर्दै रुसमा आयोजना हुने बैठक रद्द गरेका छन्। उनले दुर्घटनाको कारण पत्ता लगाउन तत्काल अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन्।
अलीएभले सामाजिक सञ्जालमा लेखे, “दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति समवेदना प्रकट गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
एक काजाक महिलाले रेडियो फ्री युरोप/रेडियो लिबर्टीलाई घटनास्थलमा पुगेर बचाउ कार्यमा सघाएको बताइन्। उनले भनिन्, “घाइतेहरू रगतले छोपिएका थिए। उनीहरू रोइरहेका थिए र सहयोगको याचना गरिरहेका थिए।”