सौल , कोरिया l पुस ११ गते । नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा सदा समर्पित र सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले स्रष्टाद्वय दीप पाठक र सरोज सर्वहारालाई ‘अनेसास सक्रियता सम्मान’ प्रदान गर्ने भएको छ।
नेपाली भाषासाहित्यको विकास, विस्तार र उन्नयनमा प्रवासमा रहेर पनि च्याप्टरको निश्चित स्रोत र साधनका बावजूद पनि कुशल नेतृत्व र भूमिकाको सही निर्वहन प्रदान गर्दै विभिन्न सभा सम्मेलन र गतिविधिहरूको कार्यसम्पादन गरेकोले स्रष्टा द्वयलाई अनेसासको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन स्वरूप सम्मान गर्न लागिएको च्याप्टरले जनाएको छ। आधुनिक कवि भूपि शेरचनको जन्मजयन्तीको अवसरमा सो सम्मान प्रदान गर्न लागेको हो।
नेपाली साहित्यिक संस्थाहरूमा विश्वव्यापी लोकप्रियता हासिल गरेको अनेसासको कोरिया च्याप्टर पछिल्लो समयमा धेरै सक्रिय हुँदै गएको छ र नवीन सोचका कामहरू गर्दै आइरहेको छ । अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा –कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साथै, काव्य -सुधाको त्रैमासिक रूपमा अतिथि कवि रचना कार्यक्रम र साप्ताहिक रूपमा विश्वव्यापी रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आएको छ।