Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

ख्यंगी दक्षिणमा गैरकानुनी यौन व्यवसायमा संग्लग्न विरुद्ध प्रहरीको छापा २६ जना पक्राउ।

दक्षिण कोरियाको ख्यंगी दक्षिणी क्षेत्रमा गैरकानुनी यौन व्यवसाय सञ्चालन गर्ने विरुद्ध प्रहरीले मारेको छापामा २६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ८ जना कोरियाली नागरिक र १८ जना विदेशी नागरिक रहेका छन्।

ख्यंगी दक्षिणी प्रहरी कार्यालयको अपराध रोकथाम विभागले यस महिनाको ६ देखि १८ तारिखसम्म विदेशी नागरिकको बाक्लो बसोबास रहेका क्षेत्रमा सञ्चालित मनोरञ्जन व्यवसायहरूमा सघन रुपमा अनुगमन गरेको थियो। उक्त अभियानका क्रममा २६ जना पक्राउ परेका हुन्। साथै, १० वटा व्यवसायलाइ सञ्चालनमा रोक लगाउने लगायत प्रशासनिक कारबाहीका लागि सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ।

यसअघि प्रहरीले गत महिनाको १ तारिखदेखि तीन सातासम्म सञ्चालन गरेको पहिलो चरणको अभियानमा ७६ जनालाई पक्राउ गरेको थियो। त्यस्तै, २० वटा व्यवसाय सञ्चालनमा रोक लगाउने लगायतका प्रशासनिक कारबाहिको सिफारिस गरिएको थियो।

यसपटक पक्राउ परेका विदेशी नागरिकमध्ये १३ जना दक्षिण कोरियामा अवैध रूपमा बसोबास गरिरहेको पुष्टि भएपछि उनीहरूलाई थप कारबाहीका लागि सम्बन्धित अध्यागमन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

हालै विदेशी नागरिकसँग सम्बन्धित यौन व्यवसाय तथा सामूहिक हिंसाका घटना भएका क्षेत्र र स्थानीय रूपमा दर्ता भएका विदेशी नागरिकको तथ्याङ्कका आधारमा अपराधको जोखिम उच्च मानिएका आनसान, सिहुङ, ह्वासङ र फेन्थेक गरी चार क्षेत्रमा अभियान सञ्चालन गरिएको थियो।

Trip

प्रहरीले ख्यंगी दक्षिण प्रहरी कार्यालयको नैतिकता अनुसन्धान टोली, सम्बन्धित स्थानीय प्रहरी चौकी तथा अन्य उपलब्ध जनशक्ति परिचालन गरी साँझ ८ बजेदेखि मध्यरातसम्म सघन निगरानी गरेको थियो। विशेषगरी मदिरा सेवन गरिने बार तथा वयस्क गेमिङ सेन्टरलाई केन्द्रमा राखेर अनुगमन गरिएको थियो।

प्रहरीका अनुसार लागुऔषध कारोबार तथा हिंसाजस्ता गम्भीर अपराधमा परिणत हुन सक्ने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा निम्न गैरकानुनी गतिविधि फेला परेका छन्:

आवश्यक इजाजतपत्रबिना व्यवसाय सञ्चालन।यौन व्यवसाय सञ्चालन तथा त्यसमा दलाली।कानुनविपरीत मनोरञ्जन तथा ग्राहक सत्कारसम्बन्धी सेवा सञ्चालन।बसोबासको कानुनी हैसियत नमिलेका विदेशी नागरिकलाई कर्मचारीका रूपमा नियुक्ति।
कारबाहीका क्रममा अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा १३ जना, सङ्गीत उद्योगसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा ७ जना, यौन व्यवसाय दलालीसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा ५ जना र गेम उद्योगसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा १ जना गरि जम्मा २६ जना पक्राउ परेका छन्।

गैरकानुनी व्यवसाय सञ्चालन गर्न विदेशी सञ्चालकले निर्देशन दिएको वा आफैँ प्रत्यक्ष रूपमा संलग्न रहेको पाइएमा उनीहरूविरुद्ध पनि सक्रिय रूपमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। त्यस्तै, कर्मचारीहरू पनि गैरकानुनी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान गरी दोषी पाइएमा कडा कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय