Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई नौ महिना कैद, ७५ हजार रुपैया जरिवानाको फैसला

अदालतले सहकर्मी शिक्षिकामाथि विद्यालयमै जातीय विभेद गर्ने तेह्रथुमको अठराई गाउँपालिका– ७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडालाई नौ महिना कैद सजाय गरेको छ ।

तेह्रथुम जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको आइतबारको इजलासले २२ वर्षीया शिक्षिका एलिसा विश्वकर्मामाथि खतिवडाले गरेको जातीय छुवाछुतमा दाबी पुग्ने फैसला गर्दै नौ महिना कैद, ७५ हजार जरिवाना र ५० हजार क्षतिपूर्तिको फैसला सुनाएको हो । जिल्ला अदालत तेह्रथुमका सूचना अधिकारी शिव बुढाथोकीका अनुसार खतिवडालाई ६ महिना कैद र ५० हजार जरिवानाको फैसला हो । तर, सार्वजनिक पदधारण गरेकाले थप तीन महिना कैद, २५ हजार जरिवाना र ५० हजार क्षतिपूर्ति फैसला भएको उनले बताए ।

शिक्षिकाको जाहेरीका आधारमा प्रहरीले खतिवडालाई १८ भदौमा पक्राउ गरेर जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । ३१ भदौमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

तल्लो जातको भएको भन्दै विद्यालयमा पकाएका खाना नछुनु भनेर एलिसामाथि तारादेवीले गत भदौमा विद्यालयमै जातीय विभेद गरेकी थिइन् । तारादेवी त्यो विद्यालयमा करार शिक्षकको रूपमा काम गर्दै आएकी थिइन् भने एलिसा निजी स्रोतकी शिक्षिका हुन् ।

Trip

एलिसाका अनुसार ७ भदौबाट विद्यालयमा श्रमदान कार्यक्रम थियो । १० भदौमा श्रमदानको समापन र तिजको अवसरमा श्रमदानमा आउनेलाई खानाको व्यवस्थापन गरिएको थियो । खाना बनाएको भाँडो छोए ठुलो जातले नखाने भन्दै प्रधानाध्यापक खतिवडाले पकाएको ठाउँमा नजान निर्देशन दिएकी थिइन् ।

विद्यालयमा भएको दर खाने कार्यक्रममा दर पकाएको ठाउँमा प्रअ खतिवडाले उनलाई जान रोकेकी थिइन् । प्रअ खतिवडाले विगतमा पनि यस्तै अभ्यास भएकाले उनलाई बुझिदिन आग्रह गरेकी थिइन् । विद्यालयमा प्रअ खतिवडाबाट बारम्बार विभेद भोग्नुपरेपछि गत भदौमा भने जिल्ला प्रहरी कार्यालय तेह्रथुममा जाहेरी दिएकी थिइन् ।

 

शिक्षिका विश्वकर्मामाथि विभेद कायमै
शिक्षिका एलिसा विश्वकर्मालाई विद्यालयमा गत मंसिरदेखि हाजिर गर्न रोक लगाइएको थियो भने उनले पाउँदै आएको तलबसमेत घटाइएको थियो । ‘मैले भोगेको विभेदविरुद्ध कानुनी लडाइँ लड्दा सहनै गाह्रो हुने गरी मानसिक तनाव झेल्नुपर्‍यो । गाउँमा दलितको केही सामाजिक कार्जे हुँदा गैरदलित नआउने र दलितलाई पनि नबोलाउने अवस्था आयो । दसैँको वेलामा गाउँमा बाटो फाँड्दा (सफाइ गर्दा) दलितको जग्गा भएको बाटोमा फाँडिएन,’ उनले भनिन्, ‘३१ भदौमा जिल्ला अदालतबाट उहाँ (तारादेवी) धरौटीमा छुटेर आउनुभयो । उहाँलाई विद्यालय व्यवस्थापन समितिले प्रअकै रूपमा हाजिर गरायो ।’

उनका अनुसार मासिक तलब ६ हजारबाट घटाएर २३ सय बनाइएको थियो । आफूले मंसिरदेखि हाजिर पनि नपाएको तर सोमबारबाट हाजिर भएको विश्वकर्माले सुनाइन् । अदालतको फैसलासँगै न्याय महसुस भएको उनले बताइन् । ‘मैले अदालतबाट न्याय पाएको छु । यो मेरो मात्र न्याय होइन । सिंगो दलित समुदायको न्याय हो । विभेदविरुद्ध बोल्नुपर्छ भन्ने चेतना हो,’ उनले भनिन्, ‘धरौटीमा छुटेर आउँदै गर्दा केही त नहुनेरहेछ भन्ने भ्रम फैलाए । मैले गलत गरेको महसुस गराउन धेरै लागेँ । समाजबाट पनि धेरै पीडा पाएँ । तर, अहिले त्यो अपराध नै हो भन्ने पुष्टि भएको छ ।’

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय