नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। अधिकारीहरूले उक्त भूकम्पको केन्द्रविन्दु चीनमा रहेको बताएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बीबीसीसँग भनिन्, “यो भूकम्पको केन्द्रविन्दु नेपाल नभई चीन हो। तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ।”
उनका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ। बिहान ६:५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रूपेश विश्वकर्माका अनुसार सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भए पनि मानवीय क्षतिको विवरण आइसकेको छैन
भूकम्प ठूलै आएको महसुस भयो। म भर्खरै बाहिरतिर डुलेर हेर्दा यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन। लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ,” विश्वकर्माले टेलिफोनमा भने।
सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जिल्लाको माथिल्लो भेगका मानिसहरूले घरहरू चर्किएको जानकारी गराएको बताएका छन्।
“कहीँ कतै क्षति छ कि भनेर बुझ्ने काम भइरहेको छ, हाम्रो जनशक्ति अहिले सबै बाहिर निस्किएको छ र उद्धारको लागि तयारी अवस्थामा छ। अहिलेसम्म अप्रिय घटना विवरण आएका छैनन्,” उनले भने।
“माथिल्लो भेगमा केही घरहरू चर्किएको भन्ने आएको छ तर यकिन छैन।” from bbc