-कविता
‘प्रेमको- जात’
प्रेमको अनेकन
परिभाषा छन।
ब्याख्या छन्।
अर्थका पनि अर्थ छन।
जस्तो-
प्रेम अनुभुति हो।
प्रेम महसुस हो।
प्रेम सामिप्य अथवा
कामवासना हो।
अझ भनिन्छ-
प्रेमको सिमा हुँदैन।
प्रेमको सिमितता हुँदैन
प्रेमको मृत्यु हुँदैन ।
प्रेमको आँखा हुँदैन
प्रेम अन्धो हुन्छ्।
प्रेम अमर हुन्छ, अजर हुन्छ।
अर्थात्
प्रेम सबथोक हो।
यि सबथोक हुने प्रेमको
जात पनि नहुनु पर्ने हो।
जसरि पशुले गर्ने प्रेममा समेत
जात हुँदैन ।
जसरि अपराधिको
जात हुँदैन।
तर यो समाजलाइ पढेदेखि
यस्तो लाग्दैन कि
प्रेमको जात हुँदैन।
यदि हुन्न थ्यो भने
सिन्धुपाल्चोकका अजित मिजार
प्रेम गरेकै निहुँमा आज
टिचिङ हस्पिटलमा कुहिनु पर्ने थिएन होला।
दश वर्ष अगाडि दैलेखका सन्तबहादुरले
प्रेम गर्दा बाबु सेते दमाइको हत्या हुने थिएन होला।
नवराज बिकहरुले भेरिमा
रगत बगाउनु पर्ने थिएन होला।
रङ्गमन्चका जिबन भट्टराइ र लक्ष्मि बर्देवाले
पारिवारिक बहिष्करण भोग्नु पर्ने थिएन होला।
अन्य कैयन प्रेमले मृत्युवरण र बहिष्करण
भोग्नु पर्थिएन होला।
त्यति मात्रै कहाँ होर
म आफ्नै प्रेममा केहि समय अर्ध- भुमिगत
जिवन जिउनु पर्ने थिएन होला।
यि सबै प्रेमका पछाडि
एउटा कारण थिए।
त्यो हो प्रेम, केवल प्रेम मात्र थिएन।
त्यहाँ थियो एकथान जात।
अर्थात प्रेमको- जात।
यदि मान्छेको जात केवल
मान्छे हुन्छ भने
हृदयङ्गम गरिने प्रेम
केवल प्रेम हुन्छ भने
मान्छेको थाप्लोमा बोकाइएको
जातको भारि,
हातमा लगाइएको
जातको हत्कडि तोडेर
मान्छेले मान्छेलाइ असिम
प्रेम गरौँ ।
✍️ हुमन छढुङ्गेल, हाल दक्षिण कोरिया।