Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले पठाएका बाच्छी सिन्धुलीको कमलामाईका किसानलाई वितरण

वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले राम्रो कमाइ गर्न नसकेपछि सिन्धुलीको कमलामाई नगरपालिका निवासी इसा कार्कीको परिवारले भैंसीपालन गर्दै आएको छ । दुई भैंसी पालेको कार्कीको परिवारले प्रतिदिन १६ लिटर दूध बिक्री गर्छ । यसबाट हुने आम्दानीबाट दुई सन्तानको पढाइ र घर खर्च चलाउँछिन् कार्की ।

कृषि पेसाबाट दुःखसुख गरेर जीविकोपार्जन गरिरहेकी कार्की अघिल्लो आइतबार निकै खुसी देखिइन् । कारण थियो, दक्षिण कोरियाले उपहारस्वरूप पठाएको होलस्टिन फ्रिजन जातका बाच्छी उनले पाएकी थिइन् ।

‘विदेशमा कमाइ नभएपछि श्रीमान्–श्रीमती कृषि पेसामा छौं । तर खासै आम्दानी छ्रैन,’ कार्कीले भनिन्, ‘कोरियाबाट दुई बाच्छी उपहार पाएका छौं । हामी धेरै खुसी छौं ।’ बाच्छीको स्याहारका लागि हेफर इन्टरनेसनल नेपालले तालिमसमेत दिएको थियो । गोठ निर्माणका लागि अनुदान पनि दिएको थियो । ‘एउटा गाईले प्रतिदिन ३० लिटरसम्म दूध दिने भनिएको छ ।

दुई वटाबाट दिनको ६० लिटर दूध उत्पादन गर्न सक्छौं,’ उनले भनिन्, ‘भैंसी पाल्दा खर्च बढी छ । तर दूध उत्पादन धेरै हुन्न । अब बाच्छी पालनलाई जोड दिन्छु ।’ हेफरले दुई बाच्छीका लागि १ सय किलो घाँस पनि उपलब्ध गराएको उनले जनाइन् । उसले बाच्छीका लागि दाना पनि दिएको छ ।

कमलामाई नगरपालिकाको तल्लो राजपानीको कृषक समूहकी हेमकुमारी देवकोटाको भनाइ पनि उस्तै छ । देवकोटाले पनि उन्नत जातका दुई वटा बाच्छी उपहार पाइन् । उपहारस्वरूप पाएका उन्नत जातका बाच्छीलाई अब राम्ररी पालनषोषण गर्ने उनको भनाइ छ । देवकोटाले गोठ बनाउन हेफरबाट १ लाख रुपैयाँ अनुदान पाएकी छन् ।

कमलामाई गाउँपालिकाकै माया कार्कीको भनाइ पनि उस्तै छ । उनले एउटा बाच्छी उपहार पाइन् । ‘किसानबाट उत्पादिन दूध बिक्रीका लागि हेफरले डेरी सञ्चालन गरिदिने आश्वासन पनि दिएको छ । गोठ बनाउनकै लाीग १ लाख अनुदान पाएँ । बाच्छी बिरामी पर्दा हेरचाह गरिदिने भनिएको छ,’ उनले भनिन्, ‘हामीलाई धेरै खुसी मिलेको छ । अब व्यावसायिक रूपमा गाईपालन गर्छौं ।’

गैयादेवी कृषक समूहका नरोत्तम अधिकारीले पनि उपहारमा दुई बाच्छी पाए । अर्का स्थानीय नेत्रबहादुर कार्की पनि बाच्छी पाउने किसान हुन् । ‘यो जातको बाच्छीबाट धेरै दूध उत्पादन हुने सुनेका छौं । धेरै गाईभैंसी पाल्नुको साटो उन्नत जातका दुई वटा गाई पाल्दा खर्च कम हुने भयो,’ उनले भने, ‘आम्दानी भने बढ्ने भयो ।’

माथिल्लो राजपानी कृषक समूहकी अध्यक्ष उर्मिला भट्टराई कार्कीले उपहार पाएको बाच्छीले बच्चा पाएपछि अन्यलाई पनि उपहारमा वितरण गर्ने बताइन् । पहिलो चरणमा हेफरमार्फत उपहारमा आएका बाच्छी कमलामाई नगरपालिका–५ को राजपानी गाउँका किसानलाई वितरण गरिएको बताइएको छ । हेफरले माथिल्लो राजपानी कृषक समूह, तल्लो राजपानी कृषक समूह, गैयादेवी कृषक समुह र दमार उद्यमी महिला समूहमार्फत उपहारमा बाच्छी वितरण गरेको हो ।

दक्षिण कोरियाले नेपाल सरकारलाई साढे ५६ करोडको बराबरका १ सय वटा बाच्छी र २० वटा साँढे उपहारमा दिएको हो । तिनै बाच्छीलाई कमलामाईमा वितरण गरिएको हेफर इन्टरनेसनल नेपालले जनाएको छ । नेपालमा उच्च प्रजनन क्षमताका गाईको स्रोत केन्द्र विकास, दूध उत्पादनमा वृद्धि र जातीय विकासका लागि कोरियाले हेफर इन्टरनेसनलमार्फत उपहारमा बाच्छी सहयोग गरेको हो ।

यी बाच्छीलाई नेपाल ल्याउन हेफर इन्टरनेसनल नेपाल र हेफर इन्टरनेसनल कोरियाले सहयोग गरेका हुन् । उपहारप्राप्त बाच्छीमध्ये ८० वटा सिन्धुलीका किसानलाई बाँड्ने जनाइएको छ । अहिले तत्कालका लागि बाच्छी वितरण कार्यक्रम वडा नम्बर ५ मा मात्रै रहेको र अन्य वडाबाट पनि माग भइरहेको सिन्धुलीका जेटीए सुजनप्रसाद भट्टराईले बताए ।

उपहारस्वरुप प्राप्त बाच्छी बिक्री गर्न नपाइने हेफर सिन्धुलीका प्रोग्राम अफिसर ठाकुर खड्काको भनाइ छ । तीबाट जन्मेका बाच्छी अरु किसानलाई उपहारमा दिनुपर्ने उनले जनाए । ‘नगरपालिकले ५० वटा किसानलाई छानेपछि हेफरले खोर गोठ निर्माण र घाँसको विकास र तालिम पनि दिइरहेको छ ।

जापान सहयोग नियोग (जाइका) को रिपोर्टअनुसार सिन्धुली दूधका लागि राम्रो पकेट क्षेत्र हो,’ उनले भने, ‘अबको आठ वर्षभित्र सिन्धुलीका ५ हजार किसानलाई सेवा पुर्‍याउने लक्ष्य छ ।’ कमलामाई–५ लाई होलस्टिन फ्रिजन स्रोत केन्द्र बनाउन खोजेको हेफरका सहनिर्देशक केशव साहले बताए । उच्च गुणस्तरको साँढे चाहिए केन्द्रले उपलब्ध गराउने उनको भनाइ छ ।

होलस्टिन बाच्छीलाई ईआईएमार्फत गर्भाधान

कोरियाबाट उपहारस्वरूप प्राप्त णस्तरकाबाच्छीलाई ईआईएमार्फत गर्भाधान गराइने जनाइएको छ । ‘विशुद्ध होलस्टिन फ्रिजन जात भएकाले विशुद्ध होलस्टिन साँढेको सिमन प्रयोग गरेर ईआईए गरिन्छ । नेपालमा समिन त्यो छैन,’ साहले भने, ‘कोरियाबाटै २ हजार डोज सिमन ल्याएका छौं ।’

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय