Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाबाट होलिस्टिन जातका १२१ गाई र साँढे नेपाल पठाईयो ।

दक्षिण कोरियाबाट होलिस्टिन जातका एक सय २१ वटा गाई र साँढे ल्याइने भएको छ । पशु सेवा विभाग र हेफर नेपाल नामक संस्थाको समन्वन्यमा होलिस्टिन जातका एक सय एकवटा बाच्छी र २० वटा साँढे ल्याउन लागिएको हो । होलिस्टिन प्रजातिको गाई सबैभन्दा धेरै दूध उत्पादन गर्नेमा पर्छ । यसले औसतमा दैनिक ३० लिटरसम्म दूध दिन सक्ने हेफर नेपालले जनाएको छ । अहिले भित्रिने गाईले एकदेखि डेढ वर्षभित्रमा दूध दिनेछन् । यस्तो गाईको निरीक्षण तथा संरक्षण भने दक्षिण कोरिया र पशु सेवा विभागले गर्नेछन् ।

दक्षिण कोरिया सरकारले निःशुल्क रूपमा उक्त गाई नेपालमा दिने भएको हो । कोरियाबाट गाई ल्याउन हेफर नेपालले समन्वयकारी भूमिका गरेको छ । हेफर नेपालका सूचना अधिकारी रविन निरौलाअनुसार बिहीबार पहिलो चरणमा ६ वटा साँढे र ४२ बाच्छी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । बाँकी गाई र साँढे पुसको ८, १० र २३ गते नेपाल आइपुग्नेछन् ।

कोरियाबाट आउने एक सय २१ वटा गाई र साँढेमध्ये सरकारलाई २० वटा साँढे र २० वटा गाई दिइनेछ । बाँकी गाई र साँढे किसानलाई वितरण गरिने भएको छ । नेपाल आएपछि सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको निरौलाले बताए । उनले भने, ‘गाई र साँढेसँगै उन्नत जातको पाँच हजार डोज सिमेन (वीर्य) पनि उपलब्ध गराउने तयारी छ ।’

हेफर नेपालका अनुसार २० वटा साँढेलाई सरकारले चितवन, पोखरा, लहानलगायतका प्रजनन केन्द्रमा राख्ने तयारी गरेको छ । अन्य केही गाईले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका किसानलाई हस्तान्तरण गर्ने तयारीमा जुटेको छ ।
किसान, हेफर नेपाल र कमलामाई नगरपालिकाले गाई राख्नका लागि सिन्धुलीमा ५० वटा गोठ तथा विभिन्न पूर्वाधार तयार गरेका छन् ।

मुख्य लगानी नगरपालिकाको भए पनि अन्य प्राविधिक सहयोग हेफरले गर्ने भएको छ । घाँस उत्पादनदेखि अन्य आवश्यक व्यवस्था हेफरको सहयोगमा हुनेछ । कृषि मन्त्रालयका अनुसार नेपालमा जम्मा ४४ हजार आठ सय ७३ वटा गाईगोरु व्यावसायिक रूपमा पालिएको देखाएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय