कोरियामा झाङ्गिएको बैकल्पिक प्रेमले जिन्दगीमा लगाएको डढेलो….
शब्दहरुलाई एकत्रित गरेर समय सान्दर्भिकतालाई मलजल होला अथवा प्रभावित होला त्यो पाठकहरुको जिम्ममा छोड्नुपर्छ तर शब्दहरुले वास्तविकतालाई पनि खोतल्नु पर्छ भन्ने मान्यता सदैव राखिरहनु पर्ने हुन्छ भलै काल्पनिक घटनाक्रम पनि यथार्थ बन्न सकेमा त्यो मलाई पनि कस्तो ठ्याक्कै मिलेको भन्नू बाहेक अरु विकल्प नरहन सक्छ ।
मानिस अवसरको खोजी र दौडमा पलपल लागेरहेको छ । स्वार्थ निहित ब्यक्तिको खोजी प्रायः असम्भव जस्तै हो । साधु सन्तहरुलाई स्वार्थ निहितमा जोडेर हेर्नुभयो भने पनि तपाईहरु त्यसभित्र ईश्वरको खोजिमा आफ्नो जीवन समय समर्पित गरेका छन । हामी त भूगोलको इतिहासदेखि नै स्वार्थ र अवसरको पछि लागेको अत्यन्तै चेतनशील प्राणी हो भन्ने कुरा यो इतिहासले पनि पुष्टि गर्छ ।
हामीले सुन्दै आएको एउटा उखान छ -“मानो खाएर मुरी उब्जाउने समय ” कोरियाको हकमा पनि त्यस्तै लागू हुन्छ थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने रोजगारीको पहिलो रोजाई । अवसरको खोजी गर्दै बिकल्पहरुको छनोटमा परेको कोरियाको रोजगारी हासिल गर्न धेरै गौंडाहरु पार गर्दै कोरिया प्रवेश गरेका युवा युवतीहरुमा पनि कोरिया प्रवेश पश्चात् पुनः अवसरको खोजी शुरु हुन्छ ।
नेपाल जस्तो बन्धनले बाधिएको सामाजिक परिवेशलाई छोडेर कोरिया जस्तो स्वतन्त्र समाज भएको शहरमा आएका हरेक नेपालीलाई फुकुवा भएको अनुभुती नहुने कुरै भएन
घटना क्रमहरु बदलिरहेका हुन्छन समय अनुसार चेतनशील मस्तिष्कमा सुषुप्त स्वार्थहरु मडारिदै जान्छन र आफ्ना कर्तव्य र जिम्मेवारीहरुलाक्क्स्गई पाखा लगाउँदै बिदेशी भुमिमा बैकल्पिक सम्बन्धहरुमा जेलिन पुगेका अवसरवादी सम्बन्धहरुको प्रेम सम्बन्ध झाँगिने र झर्ने क्रमहरुमा सयौं युवा युवतीहरु स्वार्थ प्राप्ती पछि देखिएको उल्लास र अर्को पाटोमा आफू लुटिएर गुम्सिएको दबिएको चित्कारलाई कोरियाको इन्डो नेपाली रेष्टुरेन्टमा चिकेनका आईटम हरुसंगै कोरियाको प्रख्यात मदिरा सोजुसंगै सुनिन्छन ।
कोरियाको ठूलो चाड छुसकको समय अर्थात नेपालीहरुको दशैं सबैजसो कम्पनिहरु बिदाहुन्छ एकाध बाहेक । नेपालीहरुको जमघट हुने प्रख्यात स्थान अर्थात मिनि नेपाल भनेर चिनिने राजधानी सउल स्थित तुङ्देमुन वरपर हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुको चटारो, प्रचारप्रसार , नेपाली राष्ट्रिय कलाकारहरुको ओहिरो उत्तिकै छ । बर्षौं देखि भेट हुन नपाएका साथीभाइ, इष्ट-मित्र,आफन्त , नवजोडि र बैकल्पिक जोडिहरुको भेटघाट बाक्लो छ ।
आपतकालीन राहतकोषका स्थापना,संस्थागत कोष स्थापना ,गृहजिल्लामा गरिने सहयोग कोष संकलन,सामाजिक कार्यमा गरिने सहयोग अभियान जस्ता अनेकौं शिर्षकमा दर्जनौं कार्यक्रमहरु आयोजना भएका छन । यसैबीचमा एक आयोजक टोलिसंगको बसाईले यो घटनालाई उजागर गर्ने मौका प्रदान गरेको छ ।
रातिको 12 बजिसकेको छ सुत्ने कुनै टुङ्गो छैन धेरै पछि भेट भएका साथिहरु गाउँ-घर, समाज, देश राजनिती, स्थित, परिस्थिति सबैमा आ-आफ्नो भोगाई तर्क बितर्कमा मस्त भलाकुसारी परिसकेपछि रातको 3 बजेतिर केही साथेहरु सुत्ने कोसिसमा छन भने केही साथीहरु अझै पनि कुरामै मस्त छन ।
अनेकन बिषय बस्तुको छलफल पछि अन्तिममा प्रवेश पाएको छ कोरियामा झाँगिने प्रेम सम्बन्ध र बैकल्पिक प्रेम सम्बन्धको । संस्थामा आवद्दता लामै रहेको दाईले आफ्नो देखाई र भोगाईलाई सोजुको तालमा साथीभाई बिच सुनाईरहेका छन ।
साथीहरु मानिसले जिन्दगीभरी पढेर नसिकिने पाठ केटिसंगको संगतले सिकाउँदो रहेछ । मैले उसलाई भनेजती सबै दिएको हो तर उसले घात गरि शुरूवात नै बिगोगान्त पारामा गरेका दाइले थप्दै गए । 10 बर्ष कोरियामा त्यसै खेर गयो के गर्ने के नगर्ने ?
मेरो लागि कोरियाले दिने जति पीडा आजसम्म कसैले दिएको छैन ।
हुनत म बिबाहित हो घरमा श्रीमती र दुई छोराछोरी छन मैले आफ्नो भविष्यलाई आफ्नै संघर्षले बदल्नुपर्छ भन्ने साहस राख्नुपर्थ्यो र थियो पनि । त्यैपनी यहि सामाजिक संस्थाले त्यसलाई म प्रती नजिक बनाउदै गयो म पनि पग्लिदै गए । अनेक सपनाहरु देखाई म उसले देखाएका हरेक सपनाहरुमा लोभिए मेरो पनि सुषुप्त स्वार्थ जुरुक्क उठ्यो र त्यसको पछि लागे ।
मलाई थाहा थियो उ पनि बिबाहित हो उसको कोरियन बुढा छ, अलग संस्कार र संस्कृतिमाझ अन्तर्राष्ट्रिय बिबाहले उसभित्र भएको नेपाली पन र नेपाली प्रती उसको चाहना होला , उत्कट यौवनको परिपुर्ति कोरियन बुढाबाट नभएको हुन सक्छ , घुलमिल नहुन सक्छ ,एक्लिएको हुन सक्छ मेरो साथले खुशी मिल्छ भने किन म टाढिनु जस्तो लागेर सहयोगी मन बोकेर म उसलाई साथ दिईरहेको थिए । तर …. समय क्रमसंगै कति बेला सम्बन्धले अर्कै रुप लिईसकेछ त्यो पत्तो भएन । हप्ता दिन भरिको काम त्यसपछी शनिबार साँझ उसंगको भेट घुमघाम रमाईलो सायद जिन्दगीले अनुभुती गर्न पर्ने चिजहरुको उत्कर्ष अब बाँकी छैन जस्तो। शनिबारका ती रातहरुमा सोजुका अनेक बोतल र उसको यौवनको स्पर्षमा हराउँदाका पलहरु ती भुल्न नसकिने छन । उसका बाँचाहरु उसले देखाएका अनेकौं सपनाहरु के भनौं ?
उसको देखाएको आशा अनेक अनेक छन, सम्झियो भने टाउको भारी भएर आउँछ । मानिसले यति सम्म पनि नाटक गर्न सक्दो रहेछ भन्ने लाग्छ , उसले भन्ने गर्थी कि कोरियन बूढो संग डिभोर्स गर्ने र हामी बिहे गर्ने अनि तिम्रो छोराछोरी र बुढीलाई पनि कोरिया ल्याउने यतै रमाइलो गरि बस्नुपर्छ भन्थी । बस यहि आशामा म उसको हरेक कुरालाई नाई भन्न सकिरहेको थिईन यो मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो । मेरो कमजोरी पत्ता लगाएकी उसले त्यसैमाथी खेल्न सफल भई ।
दैनिक तेह्र घण्टा काम गरेर कमाई राम्रै हुन्थ्यो शनिबार पनि ओभरटाईम राम्रै हुन्थ्यो प्रत्येक शनिबार भेट हुन्थ्यो , मोटेल (बास वस्ने ठाउँ ) मा सोजु (कोरियन रक्सी )को साथमा मातिएर ती रातहरु बित्ने गर्थे प्राय: खर्च मेरो हुन्थ्यो म सङ नभएको बेला उसले दिने गर्थी ।
कोरिया आएको पनि लगभग 9 बर्ष हुन लागेको थियो नेपालमा खासै जग्गा जमिन जोडेको थिएन । पछि यतै सेटल भईएला भन्ने लागिरहन्थ्यो । घरको दबाबको एउटा घर किन्न लागेको थिए । मैले उसलाई सबै ब्यबहारिक पाटो बताउने गर्थे । घर किन्न लागेको उसलाइ पनि जानकारी थियो । म सङ पैसा छ भन्ने पनि जानकारी थियो । सोही समयमा उसलाई पैसाको आवस्यकता परेकोले जगा पास गर्न तयारी गरेको असि लाख जति सापटी दिन आग्रह गरि १ हप्तापछी फिर्ता गर्ने सर्तमा । त्यति धेरै बिश्वास गरेको मान्छे लाई जाबो १ हप्ता बिश्वास नगर्ने कुरा पनि त भएन नि । जग्गा किन्न ठिक्क बनाएको पैसा थियो घरमा बुढिसंग सल्लाह गरेर १ हप्ताको लागि भनेर पैसा उसलाई दिए । त्यसपछि आजका दिनसम्म सम्पर्क हुन सकेको छैन । घरमा बुढिले हैरान गरेको छ अलिक समयमा आउँछ भन्दै बसेको छु। मलाई बर्बाद बनाएर गई ।
उसलाई सम्पर्क गर्ने हजार कोसिस गरे नम्बर परिवर्तन गरिछ । फेसबुक ,इमो ,भाईवर लगाएत सबैमा ब्लक गरिछ । चिनेका साथीहरुले पनि कसैबाट पत्ता लगाउन सकिन । बल्लबल्ल एक जना दिदि मार्फत पत्ता लगाएको थिएँ अन्तिम पटक भएपनी म संग भेट्न आग्रह गरेँ । उसको जवाफ थियो अब देखि मलाई फोने नगर्नु यदि यसरी नै फोन गर्ने हो भने म पुलिस केश गर्दिन्छु ।
म झस्किएँ , परदेशको ठाउँ मुद्दा मामिला ओहो त्यो म बाट हुन सक्दैन । फेरि एउटा केटिसंग ? परिवार समाज सम्झियो इज्जतको डर । यति धेरै माया गरेको मान्छे, हरेक दुख सुख भावना शेयर गरेको मान्छे ,प्रत्येक हप्ता पाँचपाँच बर्ष एउटै बिस्तारामा एउटै सिरानी बनाएर परिवार जस्तो भएको मान्छेबाट जब यस्तो कुरा सुने म बिछिप्त भएँ ।
घर बैना गरेको थिएँ,पास गर्न सकिन बैनाको पैसा पनि फिर्ता गर्न सकिन घरबाट दिनहुँ त्यही कुरामा झगडा भईरहन थाल्यो , यहि कुराले म पुर्ण रुपमा मानसिक रोगी जस्तो बन्न पुगे दोस्रो कार्यकाल पनि लगभग सकिन लागेको थियो । आजसम्म कमाएको पैसा सबै डुब्यो घर जान सकिन कम्पनी छोडेर हिडेँ र आज इलिगल रुपमा छु ।
यति भन्दै गर्दा दाईका आँखाहरु भरिएर भुइँ तप्प तप्प खसिरहेका थिए । एक गिलास सोजु एकै पटकमा स्वाट्ट पिएर दाइ भन्दै थिए म त्यसलाई पानी मुनि गए पनि छोड्ने छैन ।
दाईको निरन्तरतालाई थप्दै अर्को साथीले भन्यो परदेशमा पनि यस्तो किन हुन्छ होला ? किन एक अर्कालाई यसरी ठग्ने मनस्थितिमा मान्छेहरु सम्बन्ध जोड्छन होला ? परदेशको दु:ख र स्वदेशमा भएको यथार्थलाई किन अवमूल्यन गर्छन होला ? मानिसहरुसंग मानवीय भावना किन हुदैन होला ? मलाई यस्ता प्रश्नहरुले बारम्बार घोचिरहन्छ ।
यतिका कुरा सुन्दै गर्दा बिहानको छ बजिसकेछ । अब त 4 घण्टा पछि सांस्कृतिक कार्यक्रम छ ब्यबस्थापन गर्नु छ 2 घण्टा भएपनि आँखालाई आराम दिनु पर्यो भनेर निदाउन कोसिस गरियो । तर के निद्रा लाग्थ्यो र ? त्यसैमाथी ती दाईका कुरा मनभरी खेल्यो 1 घण्टा बिस्तारामा पल्टिएर उठेँ गह्रौं मन बोकेर फ्रेस भएर साँस्कृतिक कार्यक्रमतिर लाँगे । ती दाईले के गर्दै छ्न होला ? ती ठग्ने दिदि लाई भेटे कि भेटेनन होला ? पैसा पाए कि पाएनन होला ? अनेक अनुत्तरित प्रश्नहरु आज पनि मेरो मानसपटलमा खेलिरहेका छन । सर्वाधिकार हेल्लोकोरिया नेपालसंग रहेको छ, कसैसंग मेल खाएमा संयोग मात्रै हुनेछ।
अर्को समाचार
Comments
ट्रेन्डिङ