सरकारी नीति कमजोर हुँदा कोरियाबाट बैधानिक रेमिटान्स गर्ने भन्दा हुण्डी गर्ने बढे : अर्थमन्त्री
दक्षिण कोरियामा मंगलबारदेखि हुने हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन आएका अर्थमन्त्री जनार्दन शर्माले सोमबार सउलमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गरेका उनले सरकारीले हुण्डी प्रतिस्थापन गर्न सक्ने खालको नीति नबनाईदिदा हुण्डी गर्नेहरु बढेको बताउनुभएको छ ।
“बैधानिक तवरले पैसा स्वदेश पठाउने ब्यक्ती तथा परिवारलाई तत्काल र दीर्घकालमा फाइदा हुने खालका नीति पनि बनाउन लागि परेको साथै अहिले भएका नीति कसरी सच्याउने भन्ने बारेमा छलफल गरिरहेको र नयाँ तथा सहज नीति आएपछि वैधानिक बाटोबाटै नेपाल पैसा पठाउने वातावरण बन्ने कुरा अर्थमन्त्री शर्माले सम्बोधनमा उल्लेख गर्नुभएको थियो ।
नेपाली दूतावासका अनुसार दक्षिण कोरियामा काम गर्ने आधाभन्दा बढी कामदारले हुन्डीमार्फत् पैसा पठाइरहेको उल्लेख गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् आएका कामदार अहिले लगभग 35 हजारभन्दा बढी छन् । कोरियामा रहेका कामदारको न्यूनतम ज्याला मासिक झण्डै १ लाख ८० हजार हुन्छ । ‘कोरियामा रहेका सबै नेपालीले वैधानिक बाटोबाट रकम पठाउने हो भने न्यूनतम नै एक महिनामा ६ अर्ब भन्दा बढी हुन्छ । अहिले त्यसको आधा जति पैसा मात्रै रेमिट्यान्समार्फत् नेपाल गएको पाइन्छ’ स्टार रेमिट नेपाल विभागका निर्देशक अशोक मैनालीले भने ‘हुन्डी अवैधानिक भए पनि रेमिट्यान्सको शुल्कभन्दा धेरै सस्तो भएकोले त्यसैमार्फत् रकम पठाउँछन् ।’
अहिले यहाँबाट रेमिट्यान्समार्फत् पैसा पठाउने १२ वटा कम्पनी छन् । यहाँ रेमिट्यान्स कम्पनी खुलेको सन् २०१७ पछि मात्रै हो । यसअघि दक्षिण कोरियामा अधिकांश नेपालीले अवैधानिक बाटोबाटै नेपाल पैसा पठाउँथे । छल्लानाम्दोको प्लास्टिक कम्पनीमा काम गर्ने ईश्वर सापकोटाले भने ‘म सन् २०१४ मा कोरिया आउँदा कुनै रेमिट्यान्स कम्पनी थिएन । दुई चार वटा बैंकमार्फत् नेपाल पैसा त पठाउन सकिन्थ्यो तर अति महँगो थियो । यता बैंकले पनि सेवा शुल्क काट्ने, उता नेपालमा पनि । त्यसमाथि झन्झटिलो थियो । विकल्प भनेकै अवैधानिक बाटोबाट पैसा पठाउनु पर्थ्यो । कति पैसा त हुन्डी गर्ने मान्छेले खाएर भाग्थे ।’
अहिले भने नेपाल पैसा पठाउन सजिलो रहेको उनी बताउँछन् । सबै रेमिट्यान्स कम्पनीका मोबाइल एपमार्फत् नै कारोबार हुन्छ । तर पनि रेमिट्यान्स सेवातिर कामदारको आकर्षण बढेको छैन । दुई महिनाअघि मात्रै कोरिया आइपुगेका अजय सोडारी भने राज्यले वास्ता नगरेका कारण यस्तो अवस्था आएको महसुस गर्छन् । ‘यहाँ हुन्डी सस्तो हुने भयो । अनि वैधानिक बाटोबाट महँगोमा पैसा पठाउँदा पनि राज्यले केही सुविधा दिने होइन । त्यसैले सस्तोमै पैसा पठाउँ भन्ने महसुस धेरैलाई हुँदो रहेछ । अन्य देशका कामदारले रेमिट्यान्स कम्पनीबाटै पैसा पठाउँदा त्यहाँको सरकारले प्रोत्साहन स्वरुप विभिन्न प्रकारका स्किमहरु दिने रहेछ । हाम्रोमा छैन’ उनले भने ।
फरक फरक रेमिट्यान्स कम्पनीका पैसा पठाउँदा लाग्ने शुल्क पनि फरक छन् । ‘नेपालमा भएको पार्टनर कम्पनीले डलरको भाउको आधारमा नै नेपाल पैसा पठाउने रेट निर्धारण गर्छ, त्यसैले कम्पनी अनुसार थोरै रेट फरक पर्न पनि सक्छ’ स्टार रेमिटका मैनालीले भने । रेमिट्यान्स कम्पनीमार्फत् नेपालमा एक लाख रुपैयाँ पैसा पठाउँदा सोमबारको दरअनुसार यहाँबाट १० लाख ८८ हजार वन पठाउनुपर्छ । तर हुन्डीमार्फत् पठाउने हो भने १० लाख २० हजारदेखि ३५ हजारसम्म मात्रै भए पुग्छ । एक लाख नेपाली रुपैयाँ पठाउँदा नै कम्पनी र हुन्डीबीच पाँच हजारदेखि सात हजार रुपैयाँसम्म फरक पर्ने गरेको छ । कान्तिपुर
Comments