Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आवेदन खुलेको दुई दिनमा ईपीएस कोरिया भाषा परीक्षाका लागि १३ हजारभन्दा धेरैले भरे फारम

काठमाण्डौ – ईपीएस कोरिया भाषा परीक्षाका लागि आवेदन खुलेको दुई दिनमा १३ हजारभन्दा धेरैले आवेदन दिएका छन् । बुधबार बिहानसम्ममा १३ हजार २९४ जनाले इपीएस भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

दक्षिण कोरियाको रोजगारीमा जानेहरूको लागि भाषा परीक्षामा सामेल हुनका लागि चैत १४ गतेदेखि आवेदन लिन थालिएको हो ।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानेहरूका लागि वैदेशिक रोजगार विभाग ईपीएस शाखा ग्वार्को, ललितपुरले आवेदन खुला गरेको हो । आवेदन चैत २१ गतेसम्म दिन सकिने छ ।

कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुने गरी तालिका सार्वजनिक भएको छ । कृषि तथा पशुपालन क्षेत्रको लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।

यस्तै, उत्पादन क्षेत्रको लागि पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ भने सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ गतेसम्म मिति तोकिएको छ ।

उत्पादन क्षेत्रको सीप परीक्षण पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गते सम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म हुनेछ । १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भएको छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय