कार्तिक १९, शुक्रबार
सौल कोरिया
पछिल्लो समय नेपाली मुक्तकको विकास र उन्नयनमा क्रियाशील संस्था नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मीपूजाको अवसर पारेर शुभकामना आदानप्रदान, मुक्तक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न छ ।
हाम्रा सम्वाददातासँगको कुराकानीमा कार्यक्रमका संयोजक दिपकराजले भन्नुभयो “हामीले अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशिको मुक्तक प्रतियोगिता मात्रै सञ्चालन गरेनौं, सरकारी तवरबाट गर्न नसकेको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’ पनि दिन सुरु गरेका छौं । यसबाट मुक्तकमा साधनारत साधकलाई थप हौसला मिल्ने कुरामा विश्वस्त छौं ।” संस्थाले सम्मानका लागि छनोटमा परेका ५ नामहरूबाट उहाँहरूले गर्नुभएको कामको मूल्याङ्कन गरी रामजीप्रसाद आचार्यलाई सो कार्यक्रममा सम्मानित गरिएको थियो । प्रतिष्ठानद्वारा गत असोज महिनामा सम्पन्न गरेको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको पुरस्कार पनि कार्यक्रममा वितरण गरिएको थियो। जसमा प्रथम हुने मुक्तककार अर्घाखाँचीका पदम पाण्डेलेले नगद रु ३३,३३३ र प्रमाणपत्र, द्वितीय हुने मुक्तककार कास्कीका मदन घिमिरेले नगद रु २२,२२२ र प्रमाणपत्र अनि तृतीय हुने मुक्तककार गुल्मीकी दीक्षा भण्डारीले नगद रु ११,१११ र प्रमाणपत्र प्राप्त गर्न सफल भए । त्यसैगरी तीन फरक फरक विषयमा उत्कृष्ट मुक्तक लेख्ने मुक्तककारहरू अजय राई, प्रकाश कुइँकेल र कल्पना काफ्लेहरूलाई नगद रु २/२ हजार र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष आर एन को अध्यक्षतामा र वरिष्ठ लेखक तथा साहित्यकार प्राज्ञ सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा मुक्तक प्रतियोगिताका मूल निर्णायक आनन्द श्रेष्ठ र रामचन्द्र शर्मा रहनुभएको थियो । कार्यक्रममा युवा मुक्तक अभियन्ता रामजीप्रसाद आचार्यलाई ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान – २०७८’ स्वरूप (नगद रु ११,१११ र सम्मानपत्र) बाट सम्मान अर्पण गरिएको थियो। सर्वाधिक पुरस्कार राशिको विश्वव्यापी खुला मुक्तक प्रतियोगिता-२०७८ मा विजयी र विषयगत उत्कृष्ट मुक्तक लेख्ने मुक्तककारहरू अतिथिको रूपमा उपस्थित उक्त कार्यक्रमको संयोजन संस्थाका कार्यसमिति सदस्य दिपकराजले र सञ्चालन अर्का सदस्य ह्यारी बोण्डले गरेका थिए ।
कार्यक्रममा संयोजक दिपकराजको कार्यक्रम बारे जानकारी एवम् स्वागत मन्तव्यपछि सम्मानित व्यक्तित्व रामजी प्रसाद आचार्यको सङ्क्षिप्त जीवनी उद्घोषकले पढेर सुनाएका थिए। त्यसपछि सम्मानित व्यक्तित्व रामजी प्रसाद आचार्य, रामचन्द्र शर्मा, आनन्द श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको बिचमा विजयी मुक्तककारहरूको छोटो भनाइ सहितका मुक्तकहरू पनि प्रस्तुत गरिएको थियो । प्रमुख अतिथिका रूपमा उपस्थित प्राज्ञ सरुभक्त श्रेष्ठले नेपाल मुक्तक प्रतिष्ठान कोरियाले गरेका अनुकरणीय कामहरू आफूले नियाल्दै आएको र यस्ता कार्यहरू निरन्तर रूपमा गरिरहन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । स्रष्टा सम्मानको तथा पुरस्कार स्थापना प्रशंसनीय काम भएको बताउँदै मुक्तक प्रतियोगिता र सम्मानका कार्यक्रमले नेपाली मुक्तकको विकासमा ठूलो टेवा पुगेको कुरामा जोड दिनुभएको थियो ।
अन्तमा कार्यक्रम अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष आर एन ले मुक्तकको विकासमा सबैको साथ र सहयोग प्राप्त भइरहेको र यस्तो साथ सधैं पाइरहेमा थप मुक्तकसम्बन्धी नयाँ कार्यक्रम ल्याउन संस्थालाई कुरामा जोड दिएका थिए । शुभकामना दिएर कार्यक्रम विसर्जन गरेका थिए ।