Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

भाषा परीक्षा पास गरेकालाई छिटो लैजान कोरियासँग अर्थ मन्त्री शर्माको आग्रह

काठमाण्डाै – नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकले अर्थ मन्त्री जनार्दन शर्मासँग आज बुधवार शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गर्नुभयो ।

‘ईपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’, मन्त्री शर्माले भन्नुभयो । जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिनुभयो ।नेपालीहरूको मेहनत र इमानदारिताबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

भेटका क्रममा अर्थ मन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली नागरिककाे तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत् लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ ।

कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधा सम्पन्न अस्पताल निर्माण भएकाे छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्लिनिक कलेजको स्थापना गर्दैछ । यस कलेजले निर्माण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्नेछ । मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताउनुभयो ।

भेटका क्रममा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राख्नुभएको थियो । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उहाँले बताउनुभयो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय