Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाबाट स्वदेश फर्किने यात्रु चर्को भाडाको मारमा


शिव भुसाल ,
सिओल- नेपाल सरकारले कोरियाका लागि नियमित उडान सुचारु भएको बताएपनि कोरियाबाट स्वदेश फर्किनुपर्ने नेपाली चार्टर उडानको नाममा चर्को भाडा तिर्न बाध्य छन्। कोरोना महामारीका कारण भिषा अवधि सकिएर नेपाल फर्किने नियमित उडानको पर्खाइमा रहेका नेपाली नियमित उडान सुचारु हुँदा पनि साविकको भन्दा दोब्बर भाडा तीर्न बाध्य छन्।
कोरोना माहामारी भन्दा पहिला कोरिया(नेपाल एकतर्फी यात्राका लागि कोरियन एयरमा बढीमा ६ देखि ७ लाख वन र अन्यमा ट्राञ्जिटहुँदै हुने उडानमा एकतर्फी कम्तिमा ३ लाख वन सम्ममा टिकट बिक्रि हुने गरेको थियो।

नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएका समयमा कोरियन एयरले चार्टर उडानमा लिने गरेको भाडा र अहिले नियमित उडान सुचारु हुँदा लिइने भाडामा कुनै फरक पाइँदैन।
सरकारले भदौ १५ देखि नै कोरियाकालागि नियमित उडान सुरु भएको जनाएको छ, तर त्यसयता भदौ १९ गते कोरियन एयरले ईन्छन(काठमाडौं एकतर्फीमात्र उडान गर्‍यो। सो उडानमा पनि कोरियन एयरको नेपालीका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सी केएमई ले १३ लाख ५० हजार वन ९करीब १ लाख ३० हजार० मा टिकट बिक्री गरेको थियो।
सो बाहेक असोज २ गते शुक्रबार कोरियन एयरले ईन्छन(काठमाडौं उडान गर्दैछ। यो उडान पनि एकतर्फी मात्र हुने भन्दै एयरलाईन्सले नेपालमा टिकट बिक्रि खुलाएको छैन।
शुक्रबारको उडानमा स्वदेश फर्किने यात्रुलाई पनि केएमईले १२ लाख ९५ हजार वनमा टिकट बेचेको छ।
त्यस्तै असोज ४ गते आइतबार कोरियामा सञ्चालित नेपाली ट्राभल एजेन्सीहरू नेपाल टुर्स र लिङ्क एसिया टुर्सको सक्रियतामा आसियानाले पहिलोपटक ईन्छन(काठमाडौं उडान गर्दैछ। आसियानाको पनि एकतर्फी चार्टर उडान भन्दै एजेन्सीले ११ लाख १५ हजार कोरियन वनमा टिकट बिक्री गरेका छन्।
सरकारले नियमित उडान खुला नगर्दै तत्कालीन चार्टर उडानका लागि कोरियाका लागि ८ सय ७५ अमेरिकी डलर शुल्क तय गरेको थियो।

कोरियाबाट नेपाल जाने कोरियन एयर र आसियाना रित्तो कोरिया फर्किनेछन्। तर नेपालबाट कोरिया आउनुपर्ने नेपालीलाई भने केएमईले असोज ९ गते दुवई ट्राञ्जिट हुँदै कोरिया ल्याउँदैछ।

केएमई ट्राभलका सञ्चालक विनोद कुँवरले नेपाल सरकारले कोरियन एयरलाई नियमित उडान गर्न भनेपनि कोरियन एयरले चार्टरकै मोडलमा उडान गरिरहेको बताए। उनले कोरिया सरकारले नेपालका लागि नियमित उडानका लागि खुला नगरेको दाबी गरे। एकतर्फी उडानमा अहिलेको भाडालाई चर्को भन्न नमिल्ने तर्क कुँवरको छ।
उनले नेपालबाट कोरिया फर्किनु पर्नेहरुकालागि एजेन्सीले कोरियासँग नियमित उडान सुचारु भएका देशहरुमा ट्राञ्जिट गराएर फर्काउने काम सुरु गरेको बताए।
त्यस्तै लिङ्क एसिया टुर्सका सञ्चालक आरपी देवकोटाले कोरियाबाट फर्किनुपर्ने र नेपालबाट कोरिया आउने यात्रु पर्याप्त नभएका कारण विमान कम्पनीहरुले नियमित उडान नगरेको बताए।

यात्रुको संख्या पर्याप्त नभएको र चार्टर उडानबाट कोरियाबाट नेपाली नेपाल लैजान अनुमति भएपनि कोरिया फर्काउन अनुमति नभएका कारण एकतर्फी उडान गर्नुपरेको देवकोटाको दाबी छ।
उनी भन्छन्, ‘एकतर्फि चार्टर उडान हो, भाडा त साविकको भन्दा स्वभावैले चर्को हुन्छ नै, तर सरकारले चार्टर उडानका लागि तय गरेको भाडाभन्दा आसियानको भाडामा ठुलो फरक छैन।’
नियमित उडान सुचारु गर्न अनुमती पाएको विमानले नेपालबाट फर्किने यात्रु नभएको भन्दै चार्टरको मोडलमा एकतर्फी उडान गरेर रित्तो फर्किरहेको छ तर नेपाल बिदामा गएका १ हजार भन्दा बढी नेपालीलाई भने नियमित उडान गन्तव्य सुचारु भइरहेका देशको ट्राञ्जिट हुँदै केएमईले फर्काउने तयारी गरेको छ।
नेपाली दूतावास सिओलका उपनियोग उपप्रमुख सूर्य थापा नेपाल सरकारले कोरियन एयरलाई नियमित उडान गर्न भनेपनि कोरिया सरकारले नै नियमित उडान गर्नका लागि अनुमति नदिएको बताउँछन्।
क्वारेन्टाइन निश्चित भएका यात्रुलाई कोरिया फर्कने अनुमति भएपनि त्यसरी क्वारेन्टाइन निश्चित गरेका नेपालीको संख्या पर्याप्त नभएका कारण नियमित उडान नभएको हुन सक्ने थापाको भनाइ छ। खबर पेेेपर बाट साभार

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय