Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

चीनका ७० प्रतिशत कोरोना संक्रमित निको भए, वुहानका १४ अस्थायी अस्पताल बन्द

कोभिड–१९ संक्रमितलाई राख्न १६ सार्वजनिक स्थललाई अस्थायी स्वास्थ्य संस्थामा रुपान्तरण गरिएको थियो बेइजिङ — कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका १४ अस्थायी अस्पताल सोमबार बन्द गरिएका छन् । सहरमा भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

डिसेम्बर अन्तिमबाट कोभिड–१९ संक्रमण फैलन थालेपछि मध्यम खालका संक्रमितलाई उपचार गर्न र संक्रमणको स्रोतलाई आइसोलेसनमा राख्नका लागि वुहानमा प्रदर्शनी केन्द्र र जिमनासियम हलजस्ता १६ सार्वजनिक स्थललाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो ।सोमबार दिउँसो ३ बजे जियाघानस्थित अस्थायी अस्पताल

बन्द गरिएसँगै अब वुहानमा दुइटा मात्रै त्यस्ता स्वास्थ्य संस्था सञ्चालनमा छन् । बाँकी रहेका दुई अस्पताल पनि मंगलबारसम्ममा बन्द गरिने कोभिड–१९ नियन्त्रण मुख्यालयले जनाएको छ । अस्थायी अस्पतालमा १२ हजार बिरामीलाई उपचार गरिएको थियो ।कोभिड–१९ को उद्गमस्थल चीनमा संक्रमित र मृतक संख्या कम हुँदै गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभर मात्र १९ जनामा कोरोना संक्रमण देखिएको छ भने मात्र १७ जनाको मृत्यु भएको छ । जनवरी २० बाट दैनिक रूपमा बिरामीको जानकारी दिन थालेयता यो सबैभन्दा कम संख्या भएको चिनियाँ अधिकारीले बताएका छन् । डिसेम्बर अन्तिममा पहिलो संक्रमण देखिएयता चीनमा एकै दिन १५ हजारसम्म संक्रमित पुष्टि थियो । चीनमा आइतबारै १ हजार ५ सय ३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एकै दिन ५ हजार १ सय ११ जनासम्म कोभिड–१९ का सिकिस्त बिरामी पाइएको चीनमा आइतबार मात्र १ सय ५३ जना त्यस्ता बिरामी पुष्टि भएको स्वास्थ्य आयोगले जनाएको छ ।चीनमा हालसम्म ८० हजार ७ सय ५४ जनामा कोभिड–१९ पुष्टि भएकोमा ५९ हजार ९ सय ५ जना निको भएर घर गएका छन् भने १९ हजार १६ जना अस्पतालमा उपचाररत छन् । चीनमा कोभिड–१९ का कारण ३ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

संक्रमितको समीपमा आएका २० हजार १ सय ४६ जना अझै पनि मेडिकल अब्जरभेसनमा रहेको र आइतबारै तीमध्ये ३ हजार ८ सय २ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको आयोगले जनाएको छ । हालसम्म चीनबाहिरबाट आएका ६७ जनामा संक्रमण पुष्टि भएको उसले उल्लेख गरेको छ ।यसैबीच विश्‍व स्वास्थ्य संगठन(डब्लूएचओ)का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएको जानकारी दिएका छन् । सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक गेब्रेयससले चीनमा ७० प्रतिशतभन्दा बढी व्यक्ति निको भएको र अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् । विश्‍वभर फैलिएको संक्रमध्ये ९३ प्रतिशत चार देशमा मात्रै भएको बताउँदै रोकथामका लागि भाइरसप्रति दया नदेखाइ सबै एकजुट भएर लड्नुपर्ने उनले बताए ।

इरानमा ७० हजार कैदी रिहा
इरानले ७० हजार कैदी जेलमुक्त गरेको छ । इरानी न्यायालय प्रमुख इब्राहिम राइसीले कोभिड–१९ संक्रमण थप नफैलियोस् भनेर कैदीबन्दी रिहा गरेको जानकारी दिए पनि विस्तृत विवरण भने दिएका छैनन् । उनले ती कैदी जेलमा कहिले फर्कन्छन् वा सधैंका लागि रिहा भएका हुन् भन्नेबारे पनि बोलेका छैनन् । ‘समाजमा सुरक्षा चुनौती नहुने अवस्थासम्म कैदी रिहा गरिने छ,’ इब्राहिमलाई उद्धृत गर्दै न्यायालको वेबसाइटमा उल्लेख छ ।इरानमा कोभिड–१९ बाट सोमबारसम्ममा २ सय ३७ जनाको मृत्यु भएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ सय ६१ जना संक्रमित पुष्टि भएका छन् । चीनबाहिर कोभिड–१९ बाट मृत्यु हुने दर इरानमा धेरै छ । त्यसपछि दक्षिण कोरियामा संक्रमित धेरै छन् ।

विदेशीले उत्तर कोरिया छोडे
उत्तर कोरियामा कोरोना भाइरस संक्रमणका आशंकामा केही सातादेखि क्वारेन्टाइनमा बस्न बाध्य पारिएका ८० विदेशीले प्योङयाङ छोडेका छन् । उत्तर कोरियाको राष्ट्रिय ध्वजावहाक एयर कोर्यो विमानले उनीहरूलाई रूस लिएर गएको एनके न्युजले उल्लेख गरेको छ । विमानमा अधिकांश प्योङयाङस्थित विभिन्न देशका दूतावासका कर्मचारी र कूटनीतिज्ञ
रहेका छन् ।

रुसको भ्लादिभोस्तोकमा सोमबार बिहानै अवतरण गरिएको विमानमा रहेका विदेशी नागरिक कसरी आ–आफ्ना देश जान्छन् भन्नेबारे भने केही बताइएको छैन । उत्तर कोरियामा झन्डै एक महिनापछि कुनै पनि व्यावसायिक विमान कम्पनीले उडान भरेको हो । चीनको छिमेकी देश भएका कारणले पनि कोभिड–१९ संक्रमण फैलने डरले उत्तर कोरियाले राजधानी प्योङयाङमा रहेका कैयौं देशका सयौं विदेशीलाई क्वारेन्टाइनमा बस्न भनेको थियो । सबै विदेशी विमानमार्फत गएपछि उत्तर कोरियास्थित विभिन्न देशका कूटनीतिक निकायका कार्यालय खाली भएका छन् ।

जेलमा दंगा, कम्तीमा ६ को मृत्यु
कोभिड–१९ संक्रमण थप फैलन नदिन इटाली सरकारले चालेका कदमविरुद्ध भएका दंगामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । जेलमा आगन्तुकलाई आउन नदिने गरी सरकारले प्रतिबन्ध लगाएको विरोधमा उत्तरी क्षेत्रमा रहेका मोदेना जेलका बन्दीले एउटा भवनमा आगो लगाइदिएपछि दंगा भड्किएको थियो । भाइरस संक्रमण नियन्त्रणभन्दा बाहिर जान थोलपछि सरकारले आइतबारदेखि अप्रिल ३ सम्मका लागि करिब एक करोड ६० लाख जनतालाई क्वारेन्टाइनमा बस्न भनेको थियो । मंगलबार बिहानसम्म इटालीमा ४६३ जनाको मृत्यु भएको छ भने ९ हजार एक सय ७२ जनामा संक्रमणको पुष्टि भएको छ ।

विभिन्न कार्यक्रम स्थगित
कोरोना प्रकोपका कारण विश्वभर विविध कार्यक्रम स्थगित गरिएका छन् । विभिन्न देशमा खेलकुद र सांस्कृतिक कार्यक्रम पनि रोकिएका छन् । इन्डियन वेल्स टेनिस टुर्नामेन्ट, साउदी खेलकुदलगायतका खेल गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएका हुन् । चर्चित कोरियाली सांस्कृति समूह के–पपको जापान यात्रा पनि हाललाई रोकिएको छ । युरोपेली संसद्ले यसै साताका लागि तय गरिएको विस्तारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ । कैयौं देशले कोरोना प्रभावित राष्ट्रका नागरिकलाई प्रवेशमा रोक लगाएका छन् ।

विश्वभर कोभिड–१९ संक्रमितको संख्या सोमबारसम्ममा १ लाख १४ हजार नाघेको छ भने मृतकको संख्या ४ हजार २६ पुगेको छ । विश्वका लगभग आधाभन्दा बढी देशमा भाइरस संक्रमित पाइएका छन् । विश्वभर ६४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।ekantipur बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय