गत फेब्रुअरी महिनामा दक्षिण कोरियाको यङआम (영암) स्थित सुँगुर फार्ममा काम गर्ने नेपाली श्रमिक तुलसी पुन मगरको आत्महत्या प्रकरणमा मोकपो अदालतले आज ऐतिहासिक फैसला सुनाएको छ।
अदालतले फार्म मालिकलाई २ वर्ष जेल सजाय र १० लाख वन जरिवानाको फैसला गरेको छ भने टोली प्रमुखलाई ८ महिना जेल सजायको फैसला गरेको छ।

तुलसी पुन मगर सुँगुर फार्ममा काम गर्दा मालिक र टोली प्रमुखको निरन्तर उत्पीडन र कुटपिटको सिकार भएका थिए। शारीरिक तथा मानसिक यातनाका कारण उनी आत्महत्या गर्न बाध्य भएका थिए।MTU (प्रवासी श्रमिक युनियन) ले यस घटनापछि न्यायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।
राष्ट्रिय जुलुसको आह्वान
MTU ले सेप्टेम्बर २१ (आइतबार) दिउँसो २ बजे सियोल श्रम विभाग कार्यालय अगाडि प्रवासी श्रमिक राष्ट्रिय जुलुसको आयोजना गर्ने घोषणा गरेको छ।
संगठनले सबै प्रवासी श्रमिकहरूलाई एकजुट भएर यस जुलुसमा सहभागी हुन आह्वान गरेको छ। “प्रवासी श्रमिकहरू विभाजित नभएर सबै एकजुट होऔं,” भन्ने नारा दिदै संगठनले श्रमिक अधिकारका लागि लड्ने प्रतिबद्धता जनाएको छ।