Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

NRNA दक्षिण कोरियालाइ खुलापत्र

श्रीमान यज्ञराज सुवेदी ज्यू, अध्यक्ष , NRNA दक्षिण कोरिया ।

विषय :रुकुम घटनाका सम्बन्धमा ।

अध्यक्षज्यु , केहि महिना अगाडि सम्पन्न NRNA दक्षिण कोरियाको अध्यक्ष पदमा हजुरले उम्मेदवारी दिने घोषणाले हामी निकै उत्साहित थियौ । विशेषत इपीएस छिङ्गुको उम्मेदवारीले हामी सबै कामदारको ध्यान तानेको थियो। हामी उत्साही बनेर हजुरको पक्षमा लबिङ गरियो , पोस्टहरु शेयर गरियो ,मतदान गरियो र हजुरलाइ जिताइयो । NRNA दक्षिण कोरियालाइ यहाँ रहेका सबै नेपालीको साझा घरको रुपमा बिकास र व्यवस्थित गर्न यस नेतृत्वले छोटो समयमै प्रभावकारी भुमिका खेल्यो । त्यसको हामी प्रशंसा गर्छौं तर किन किन रुकुम घटना पश्चात् NRNA दक्षिण कोरिया हाम्रो साझा हो कि होइन भन्ने अन्योलता मनमा छाएको छ ।
हुन त घटना नेपालको हो , हामी प्रवास र प्रवासी नेपालीका समस्यामा बढी केन्द्रित छौ भन्ने कुरा पनि आउला । तर हामी निश्चित समयको लागि काम गरेर नेपाल फर्किने कामदारहरु पनि NRNA को सदस्य र मतदाता भएको कारण नेपालमा घट्ने घटनाहरु हाम्रो प्रत्यक्ष सरोकार राख्ने घटनाहरु हुन । हामी साधारण सदस्य र मतदाता भएको कारण हामीसङ्ग प्रत्यक्ष सरोकार राख्ने घटनाहरु NRNA दक्षिण कोरियाको पनि प्रत्यक्ष सरोकार राख्ने घटनाहरु हुनु पर्ने हो तर व्यवहारमा त्यस्तो देखिएन । फेरि नेपालमा प्राकृतिक विपत्ति र मानवीय क्षति हुदा सहयोग गर्ने NRNA को घोषीत कार्यक्रम नै हो । रुकुम जिल्लामा त्यति निन्दनीय हत्या हुदा , सारा मिडिया , कलाकार , मानव अधिकार आयोग ,जनता र सयुक्त राष्ट्र सङ्घले समेत गम्भीर मानवीय क्षति देख्दा NRRA दक्षिण कोरियाले किन मानवीय क्षति देखेन? भत्सर्ना सहितको सामान्य विज्ञप्ति समेत किन निकाल्न सकेन ? दिवस पोर्ख्रेल अमेरिकन आइडल भिड्दै गर्दा उसलाइ नेपाली भनेर आफ्नो सम्झी पोस्ट गर्ने NRNA दक्षिण कोरियाले रुकुममा भिडले कुटि कुटि मारेका नेपालीलाई किन आफ्नो सम्झन कन्जुस्याइँ गर्यो? निश्चय पनि घटनाका सम्बन्धमा फरक फरक व्यक्तिका फरक फरक धारणा होलान् । कसैले यसलाई जातीय भन्लान् , कसैले वर्गीय भन्लान् र कसैले केटा वा केटी एक पक्षलाई दोषी भन्लान् ।व्यक्ति गत रुपमै यस घटनाको बारेमा रातभरी दिनभरी दक्षीण कोरियामै रहेका साथी र सामाजिक सस्थामा जिम्मेवार पदमा रहेका साथीहरुबाटै सोसियल मिडिया र म्यासेन्जरमा तिता जवाफहरुको सामाना गरिरहेको छु। सबै व्यक्ति र सस्थालाइ सम्बोधन गरेर पत्र लेख्न सम्भव भएन ।त्यसैले हजुरलाइ सम्बोधन गरिएको यसै खुलापत्र मार्फत सबैलाई सम्बोधन गर्न चाहन्छु । सबैका आआफ्ना दृष्टिकोण होलान् तर सारा नेपालीको चासो रहेको र अन्तरास्ट्रिय सहित कोरियन मिडियाले समेत कभर गरेको यस घटनाको बारेमा NRNA कोरियाको आधिकारिक पेजमा एउटा समाचार वा जानकारीको रुपमा समेत ठाउँ नपाउनु निकै दु:खद कुरा हो ।

अध्यक्ष ज्यू, हामी नेपाली जहाँ गएनी जात चाहिँ बोकेर जाने रहेछौ । ट र त , द र ड उस्तै उच्चारण गर्दा नेपालमा जस्तै मजाक र क्यारिकेचरकोको पात्र बन्नुपर्ने अवस्था यहाँ पनि रहेछ । ग्रुपमा सङ्गै खादा पिउदा जातिसुचक उखान र टुक्का सुनेर मन दुखाइ बस्नुपर्ने अवस्था यहाँ पनि रहेछ । शायद हामी नेपालीको चेतनामा यी कुराहरु गहिरो गरि गडेको छ ।विश्वको जुनसुकै भूगोलमा गएपनी शायद यो चेतना हामीबाट हट्नेछैन ।त्यसैले त नेपाल भित्र स्थानीय होस वा राष्ट्रिय निर्वाचन दलित र जनजाति स्वभाविक रूपमा एक ठाउमा प्राय उभिरहेका हुन्छन् । आफैले मत दिएर जिताए पनि निर्वाचित गैरदलित र गैरजनजाती प्रतिनिधिले दलित र जनजाति माथी अन्याय हुदा पिडकको पक्ष लिन्छन् वा मौनता साधेर बस्छन भन्ने महसुस दलित र जनजातिलाई भएको छ ।कम से कम नेपालका पटकपटक भएका निर्वाचन र घटनाहरुले यस तथ्यलाई साबितताको नजिक पुर्याइ रहेका छन । कोरियामा पनि रुकुम घटनाको बारेमा आदिवासी जनजाति महासङ्घ बाहेक अरु कुनै पनि गैरदलित सस्था र जिल्लागत सम्पर्क समितिले विज्ञप्त्ति निकालेका छैनन् ।
हजुर अध्यक्ष पदको प्रत्यासी रहनुभएको केही महिना अगाडिको निर्वाचनमा समेत दलित र जनजाति एक कित्तामा उभिनुपर्छ भन्ने माहोल भएको कुरा हजुरलाइ अवगत नै छ तर हामीले जात, जिल्ला र क्षेत्र भन्दा माथी उठेर हजुरको पक्षमा उभियौ । अब तपाईहरु रुकुम घटनाको सम्बन्धमा मौनता साधेर बस्नुहुन्छ कि बोल्नुहुन्छ ? त्यो हेर्ने बेला आएको छ।धन्यवाद ।

तपाईंहरुको शुभेच्छुक :
सुदिप परियार
सचिब , परियार समाज दक्षिण कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय