सोल, दक्षिण कोरिया – स्याङ्जा समाज दक्षिण कोरिया, किम्हे बुसान शाखा र थेगु शाखाको संयुक्त आयोजनामा आगामी मे महिनाको २३ र २४ गते वार्षिक रमाइलो बनभोज कार्यक्रम हुने भएको छ। संस्थाले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रममा यस पटक पनि व्यापक सहभागिताको अपेक्षा गरिएको छ।
दक्षिण कोरियामा रहेको अग्रणी नेपाली संस्था स्याङ्जा परिवार कोरियाले विभिन्न सामाजिक क्रियाकलाप, सहयोग, सद्भाव तथा आपसी भाइचाराको प्रवर्द्धनका लागि समय-समयमा सांस्कृतिक तथा रमाइलो कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
संस्थाका अध्यक्ष सुशील गुरुङले यस वर्षको कार्यक्रममा कोरियाको अत्यन्तै सुन्दर तथा रमणीय पर्यटकीय स्थलको अवलोकन गर्नुका साथै नेपाली विभिन्न परिकारहरूसहित रमाइलो बनभोजको तयारी गरिएको जानकारी दिनुभयो।

संस्थाका सचिब तोजी गुरुङले स्याङ्जालगायत नेपालका विभिन्न स्थानबाट कोरिया आएर विभिन्न पेशा, व्यवसाय तथा अध्ययनरत सम्पूर्ण नेपालीहरूको परिचय र आपसी भाइचारा कायम गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “यो कार्यक्रमले नेपाली संस्कृतिको रूपमा रहिआएको बनभोज परम्परालाई पुनर्ताजगी दिँदै वर्षभरिको थकान बिर्साउन मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो।
स्याङ्जा परिवारको तीन शाखा – किम्हे, बुसान र थेगु – सह-आयोजकको रूपमा रहेकाले कोरियाभरि रहेका अधिकभन्दा अधिक नेपालीको सहभागिता हुने अपेक्षा गरिएको छ।
संस्थाले सबै इच्छुक सहभागीहरूलाई मे २३ र २४ मा हुने कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ।