काठमाडौँ — दक्षिण कोरियाले नेपालमा रहेका रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत श्रमिक पठाउन सहजीकरण गर्ने मानव संशाधन विभाग (एचआरडी) कर्मचारीको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ । उसले सुरक्षाकै कारण आफ्ना कर्मचारी फिर्ता बोलाउन परे पुन: एचआरडीमा कर्मचारी पठाउन सम्भव नरहेको समेत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरियाको श्रम तथा रोजगार मन्त्रालयको मानव संशाधन हेर्ने विभागीय प्रमुखको नेतृत्वमा गएको टोली नेपाली दूतावासका अधिकारीलाई शुक्रबार ‘आपत्कालीन भेट’ गरी यस्तो जानकारी दिएको हो ।
कोरियाले नेपालमा ईपीएसअन्तर्गत श्रमिक लैजान एचआरडी स्थापना गरेको छ । कोरियाको भाषा र सीप परिक्षा पास गरी बसेका नेपालीले रोस्टरको समय बढाउनुपर्ने माग गर्दै नियमित आन्दोलन गरेपछि कोरियाले यस्तो चेतावनी दिएको हो । भाषा परीक्षा उत्तीर्ण गरेकाहरूको आन्दोलनबाट आफ्ना कर्मचारीको सुरक्षामा चुनौती थपिएको कोरियाको बुझाइ छ ।
‘हामीले नेपालका लागि मात्रै छुट्टै नीति अपनाउन सक्ने अवस्था छैन,’ कोरियन अधिकारीसँग बैठकमा सहभागी नेपाली दूतावासका एक अधिकारीले कोरियाको भनाइ उद्धृत गर्दै इकान्तिपुरसँग फोनमा भने,‘ईपीएसमार्फत १७ देशबाट श्रमिक ल्याउने एउटै प्रणाली छ । नेपालले पनि त्यही प्रणालीभित्रबाट श्रमिक पठाउनुपर्छ ।’