Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव

सौल दक्षिण कोरिया
दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेको दुई सातामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।
कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । ‘हानले आफूलाई कार्यवाहक राष्ट्रपति नभई विद्रोही भएको देखाएका छन्,’ पार्टीका संसदीय दलका नेता पार्क चान-डेले भने ।

Trip

हानले डिसेम्बर ३ मा राष्ट्रपति युनलाई सैनिक कानुन लागू गर्नका लागि सहयोग गरेको पनि विपक्षीको आरोप छ । यसअघि हानले राष्ट्रपतिको कदम रोक्न असफल भएकोमा माफी मागेका थिए । सैनिक कानून घोषणा गरेको कोरियाली संसद्ले डिसेम्बर १४ मा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । तर उनी पदमुक्त हुन भने संवैधानिक अदालतको फैसला आवश्यक छ ।

संवैधानिक अदालतमा हाल ३ सदस्य रिक्त छन् । कार्यवाहक राष्ट्रपति हानले ९ सदस्यीय संवैधानिक अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेका हुन् । तीन न्यायाधीशको औपचारिक नियुक्ति अस्वीकार गर्नुको अर्थ हान राष्ट्रपतिका रूपमा कार्य गर्न योग्य नभएको विपक्षीहरूको भनाइ छ ।
उनीविरूद्धको महाभियोग प्रस्तावमा आगामी २४ देखि ७२ घण्टाभित्र मतदान हुने जनाइएको छ । प्रस्ताव पारित हुन १ सय ५१ सांसदले मत दिनुपर्छ । कोरियाली संसद्‍मा हाल ३ सय सदस्य छन् । तीमध्ये १ सय ७० सांसद डेमोक्रेटिक पार्टीका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय