Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

त्रिभुवन एअरपोर्टमा आईफोनको कर तिर्छु भन्दा पनि भन्सार बिभागका कर्मचारीले जफत गरे

झापाका दुधलाल नेम्वाङ सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। दुधलालले साथमा एउटा नयाँ फोन पनि बोकेर ल्याएका थिए।

तर जब उनी सोमबार बिहान विमानस्थल ओर्लिए, उनको नयाँ फोन भन्सार कार्यालयले जफत गरिदियो।

घटनाबारे सुनाउँदै दुधलालले सेतोपाटीसँग भने, ‘सेक्युरिटी जाँच गर्दा मेरो झोलामा फोन देखियो। त्यसपछि सुरक्षाकर्मीले मेरो पासपोर्ट मागेर भन्सारको कर्मचारीलाई दिनुभयो। भन्सारका कर्मचारीले हातमा एउटा फोन हुँदाहुँदै अर्को मोबाइल ल्याउन पाइँदैन र लैजाने भए भन्सार तिरेर लैजानुस् भन्नुभयो।’

दुधलालले भने नेपाल फर्कनु केही दिनअघि विदेशबाट फोन ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको उल्लेख गरे। उनले भन्सारका कर्मचारीलाई पनि एउटा फोन लैजान दिन प्रधानमन्त्रीले दिएको निर्देशन सुनाए।

‘प्रधानमन्त्रीज्यूले दिएको निर्देशन बुझेपछि नै मैले फोन ल्याएको हो तर भन्सारका कर्मचारीले त्यो कुरा कसैगरी मान्नुभएन,’ दुधलालले भने, ‘उल्टै उहाँहरूले राजपत्र देखाउँदै प्रधानमन्त्रीको निर्देशनले मात्र हुँदैन, २ सय ७५ जना सांसदले निर्णय गरेर कानुनको रूपमा आएपछि मात्र लागु हुन्छ नत्र हुँदैन भन्नुभयो।’

भन्सारका कर्मचारीले आफूलाई ३० हजार रुपैयाँ कर तिरेर फोन लैजान सुझाएपछि आफूले फोन त्यहीँ छाडेर हिँडेको उनले बताए। साथै यो घटनाले आफूलाई दुःखी तुल्याएको बताउँदै उनले भने, ‘देशकै कार्यकारी प्रमुखले दिएको आदेश एउटा कर्मचारीले मान्दैन भने हामी जस्ता सर्वसाधारणको त के नै हुने रैछ।’

भन्सार विभागले पुस १५ गतेदेखि लागू हुने गरी विदेशबाट एउटाभन्दा बढी फोन ल्याएमा १८ प्रतिशत भन्सार शुल्क लाग्ने सूचना जारी गरेको थियो। तर लगत्तै सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुरा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए।

दुधलालले पनि आफू यो घटनामा अब कानुनी रूपले अघि बढ्ने बताए। यस घटनामा राज्यले जवाफ दिनुपर्ने भन्दै उनले भने, ‘देशको कार्यकारी प्रमुखले पहिलेको नियम हटाइएको भनेका कारण मैले मोबाइल ल्याएको हुँ। कि त अब प्रधानमन्त्रीले नै त्यो होइन भन्नुपर्यो। नत्र सर्वसाधारणले यस्तो दुःख पाउनुभएन।’

उनले सरकारले कर तिर्नुपर्छ भन्ने निर्देशन दिए आफू तिर्न तयार रहेको बताए।

आफूले चाहेको भए कर तिरेर पनि मोबाइल ल्याउन सक्ने भन्दै उनले नियम सबैलाई बराबर हुनुपर्ने र अरूले पनि यो कुरा बुझून् भनेर फोन भन्सार कर्मचारीलाई बुझाइदिएको उनले सुनाए।

भन्सार विभागका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने यो घटनालाई विषयमात्र बनाइएको बताएका छन्।

उनले प्रधानमन्त्रीले सिधै दुई वटा फोन ल्याउन पाउने भन्ने निर्देशन नदिएकाले पहिलेको व्यवस्था अनुसार नै काम अगाडि बढाइएको बताए।

गौतमले २०७७ जेठ १५ गते राजपत्रमा प्रकाशित व्यवस्था नै अहिले पनि लागू हुने भन्दै सोही अनुसार विभागले कारबाही अगाडि बढाएको जनाए।

उनले अहिले कर नतिरी जम्मा एउटा मात्र फोन ल्याउन पाउने व्यवस्था रहेको हुँदा सोभन्दा बढी फोन ल्याउन चाहेमा थप भन्सार शुल्क तिर्नुपर्ने बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय