Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन भाषा अन्तर्गत उत्पादन तर्फको पहिलो चरणको परीक्षा सुरु

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने उत्पादनतर्फको पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ । सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि पहिलो चरणको परीक्षण साउन २ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गरिनेछ ।

ईपीएस शाखाका अनुसार उत्पादनतर्फको पहिलो चरणको परीक्षाका लागि १५ हजार ३८३ जनाले आवेदन दिएका छन् । यस्तै उत्पादनतर्फको दोस्रो चरणको परीक्षा आउँदो भदौ २० गतेबाट असोज २१ गतेसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार दोस्रो चरणको परीक्षाका लागि १८ हजार ९९५ जनाले आवेदन दिएका छन् । उक्त परीक्षाबाट यस वर्षका लागि उत्पादनतर्फ माग भएको छ हजार ९१३ जना छनोट गरिनेछ ।

यसअघिका परीक्षामा नक्कली विद्यार्थी धेरै हुने गरे पनि यस पटक भने परीक्षाको रोस्टरमा परेका अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएकाले त्यो समस्या नभएको ईपीएस शाखाका निर्देशक कटवालले जानकारी दिनुभयो । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिले छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।

ईपीएस शाखाका अनुसार सन् २०२२ मा ईपीएसमार्फत कोरिया जानका लागि ४४ हजार ८५३ जनाले आवेदन दिएकोमा कृषितर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ जना रहेका छन् । सन् २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का लागि नौ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आवेदन माग गरिएको थियो ।

एचआरडीले कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने भनेको छ । उक्त परीक्षाको आवेदन भने चैत १४ देखि २१ गतेसम्म अनलाइनमार्फत माग गरिएको थियो । याे खबर आजको गाेरखापत्र राष्ट्रिय दैनिकमा छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय