Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोभिड-19 का बीच कोरियादेखि नेपाल यात्रा हुनुहुन्छ ? यतिसम्म भोग्ने क्षमता राख्नुहोस

जहाज उडानको दुई दिन पहिला मात्र मलाई एक जना भाईको फोन आयो, दाई जहाज जाने भएछ नि त । तपाईको नाम फर्किने लिस्टमा छ कि छैन हेर्नुभयो कि ? म हतारिए , ए हो र कहा कहिले ! कोरियाले नेपालबाट कामदार ल्याउन कोरियन एयर को खाली जहाज काठमाडौं पठाउँदै छ भन्ने कुरा त सुनिएको थियो । तर कोरियाबाट नेपालीहरुलाई नेपाल भित्र्याउने कुराको टुङ्गो लागेको थिएन।

 

हुन त यो भन्दा पहिला पनि एनआरएन कोरिया, नेपाली राजदूतावास सउल र बिभिन्न ट्राभल एजेन्सीहरुले कोरियाबाट भिषा अवधी सकिएका र बिभिन्न समस्यामा परेर नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन पहल नगरेका भने होइन। बिश्वव्यापी कोरोना महामारीका कारण नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि नेपालले शुरु गरेको लकडाउनसंगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान समेत बन्द गरिएको थियो । तर कोरियाले यो अवधिमा नेपालमा रोकिएका आफ्ना नागरिक र केही नेपालीहरुलाई एक तर्फी चार्टर उडानबाट थुप्रै पटक नेपालबाट कोरिया ल्याई सकेको थियो । त्यसो त नेपाल सरकारले बिदेशबाट नेपालीहरुलाई उद्दार गरी यात्रुहरु कै खर्चमा नेपाल ल्याउने भनेर केही दिन अघि भाडा दर र उडान तालिका समेत सार्वजनिक गरेको थियो । सोही तालिकाअनुसार दक्षिण कोरियाबाट नेपालीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याउन गएको जुन २१ तारिक का लागि उडान तालिका समेत तोकेको थियो । तर त्यो उडान तालिका मै मात्र सीमित रह्यो। सुन्नमा आए अनुसार कुनै पनि बिदेशी बिमान कोरिया आउनु पहिले कोरियाको नागरिक उड्डयन प्राधिकरणको प्राबिधिक टिमले सम्बन्धित देशमा गएर उक्त बिमानको प्राबिधिक पक्षको चेक जाँच गरी सकेपछि मात्र त्यो बिमानले कोरियामा उडान अनुमति पाउने रहेछ । नेपाल वायुसेवा निगमको बिमानको उक्त चेक जाँच भई नसकेकोले नेपाल एयरलाइन्सले कोरियामा उडान अनुमति नपाएको रे ।

सरकारले बिदेशबाट नेपालीहरुलाई उद्दार गरी नेपाल ल्याउन उडान तालिका सार्वजनिक गरेपछि कोरियामा रहेका नेपालीहरुमाँझ पनि हर्ष छायो। त्यसमा पनि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चन्द्र सूर्य अंकित विमान नेपाल सरकारले कोरिया पठाउने भएपछि नेपालीहरुको खुशीको सिमा नै रहेन । हुन पनि किन नहुनु, देशको माया कसलाई कति छ भन्ने कुरा बिदेशिएको एउटा नेपालीको मनोविज्ञानबाट बुझ्न सकिदो रहेछ। गत अप्रिलमा जापानको नारिता बिमानस्थलमा क्याप्टेन बिजय लामाले नेपाल वायुसेवा निगमको चन्द्र सूर्य अंकित बिमान ल्याण्डिङ गरेपछि सोही बिमानस्थलमा काम गर्ने नेपाली चेलीहरुको भावुक प्रतिक्रिया सहितको भिडियो सामाजिक सञ्जाल मा ताजै छ।

 

सरकारले बिदेशमा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल भित्र्याउने भनेपछि सोही अनुसार केही दिन पहिला दुतावासले कोरियाबाट तत्काल नेपाल फर्किनैपर्ने व्यक्तिहरुको नामावली संकलन गरी ९७२ जनाको नाम समेत नेपाल सरकारलाई पठाई सकेको थियो ।

नेपालमा गत मार्च २० तारिकबाट लकडाउनसंगै अन्तर्राष्ट्रीय उडानमा समेत प्रतिबन्ध लागेपछि कयौं नेपालीहरु बिदेशमा अलपत्र परेका थिए। कोरोना महामारीका कारण उत्पादन, व्यापार, व्यावसाय सबै तिर असर परे पछि अधिकांश बैदेशिक रोजगारीमा गएका नेपालीहरू प्रभाबित भएका थिए। धेरैको काम गर्ने कम्पनी बन्द भएर रोजीरोटी गुमेको थियो भने कतिपय कामबाट निकालिएका थिए। कयौंको भिषा अवधी सकिएर नेपाल फर्किनै पर्ने अवस्था आएको थियो।

यस्तो अवस्थामा लामो समयसम्मको पर्खाई पछि पनि मानिसहरु नेपाल फर्कन नपाउदा आहत भैसकेका थिए। मान्छेहरुमा नेपाल सरकार प्रति आक्रोश बढेको थियो। दुतावासका फोन लाइनहरु सधैं व्यस्त रहने, आफुहरुलाई नेपाल फर्काउने व्यवस्था गर्न दुतावासमा धर्ना दिने लगायत फेसबुक, मेसेन्जर, भाइबर जस्ता सामाजिक सञ्जालहरुमा ग्रुप बनाएर मिडिया र सामाजिक सञ्जालबाट समेत सरकारलाई तीब्र दबाब दिइदै आएको थियो। सायद दबाब थेग्न नसकेरै होला केही दिन पहिला नेपाली राजदूतावास सउलले हतारमा लेटर प्याड र सरकारी लोगोलाई समेत बिर्सेर फेसबुक स्टाटस मार्फत कोरियाबाट नेपाल उडानबारे अनिश्चितता कायमै रहेको र त्यसको लागि दुतावास मा फोन गर्न आवश्यक नभएको तथा उडान सुनिश्चित भएपछि सार्वजनिक सुचना निकालेर जानकारी गराउने भनेर सुचना निकालेको थियो। जसको सामाजिक सञ्जाल मा लेटर प्याड र लोगो बिनाको लावारिसे सुचना भनेर आलोचना भएपछि लगत्तै दुतावासले लेटर प्याड र सरकारी लोगो सहितको सुचना सार्वजनिक गरेको थियो ।

जुन १७ तारिक अपरान्ह ३ बजे तिर एनआरएन कोरियाले आफ्नो फेसबुक पेजमार्फत एउटा सुचना जारी गरेको रहेछ। सुचनामा जुन २० तारिक बिहान ५ बजे कोरियन एयरको बिमान KE-9695 नेपाली कामदार ल्याउन काठमाडौं जाने र उक्त बिमानमा कोरियाबाट पनि नेपालीहरु काठमाडौं जान पाउने कुरा थियो।

 

दुतावासले उपलब्ध गराएको ३०० जना को नाम लिस्ट पनि त्यही पोस्टमा थियो । तर लिस्टमा परेकाहरुले सोही पोस्टमा दिइएको सम्पर्क नम्बरमा सम्पर्क गरेर नाम टिपाउन भनिएपनि लिस्टमा भएका सबै ३०० जना नै भने काठमाडौं जान नपाउने रहेछ । जहाजको सिट क्षमता अनुसार करिब २३० जना मात्र जान पाउने र त्यो ३०० जनाको लिस्ट मध्ये प्राथमिकताको आधारमा छनोट गर्ने र कोही नजाने अवस्था पनि हुन सक्ने भएकोले सिट क्षमता अनुसार मिलाउनका लागि ३०० जनाको लिस्ट निकालिएको रहेछ । जहाज को भाडा ८५०००० कोरियन वन तोकिएको थियो भने चार्टड फ्लाईट भएकोले प्रति यात्रु २४ किलो सम्म लगेज र १० किलो सम्मको ह्यान्ड क्यारी ब्याग मात्र लग्न पाइने, पैसा तिरेर अतिरिक्त लगेज समेत लान नपाइने रहेछ।

 

समय एकदमै छोटो थियो। जान पाउने को लिस्टमा नाम भएर टिकटको पैसा बुझाई सके पनि टिकट नबनुन्जेल सम्म जान मिल्ने नमिल्ने भनेर ढुक्क हुने अवस्था थिएन । सम्बन्धित ट्राभल, एनआरएन र दुतावासमा सम्पर्क गर्दा सबै लाइन व्यस्त हुन्थें । कतै फोन उठि हाल्यो भने पनि काम हुदैछ, टिकट बन्दैछ भन्ने मात्र जवाफ आउथ्यो ।

 

यता जहाज पर्खेर बसेकाहरुको छटपटी अर्कै थियो। जान पाउने हो वा होइन, जान पाई हाले पनि छिन छिन ढिलो भइरहेको थियो । जान पाई हाल्यो भने जानेहरुले अनिवार्य कोरोना पिसीआर वा आरडिटी चेक गरेर नेगेटिभ आएको हुनै पर्ने, अनि अधिकांश E-9 भिषा अन्तर्गत कै भएकोले टिकट नहुन्जेलसम्म उनीहरूको स्वदेश फिर्ती बीमा लगायत आफुले काम गर्ने कम्पनी संगको हिसाब किताब मिलानको लागि ढिलो भईरहेको थियो ।

सबै को ध्यान त्यही जहाजको टिकटले तानिरहेको थियो। बल्ल १८ तारिक बेलुका ५ बजे टिकट आयो। तर त्यतिबेला सम्म कार्यालयहरु बन्द भैसकेका थिए। भोलि पल्ट १९ तारिक को बेलुका सम्म एयरपोर्ट पुगिसक्नु पर्ने थियो । तर अझै कोरोनाको टेस्ट, स्वदेश फिर्ती बीमा आबेदन र कम्पनीसंगको हिसाब मिलान सबै बाँकी नै थियो ।

 

कोरियामा कोरोना चेक जाँच का लागि कोरिया भित्र कै लागि बोगनसो (प्राथमिक स्वास्थ्य सेवा केन्द्र) मा निशुल्क चेक जाँच गरिने र त्यसको रिपोर्ट २/३ दिन पछाडी आउने भए पनि बैदेशिक यात्राका लागि हस्पिटल अथवा हस्पिटलहरुले नै सञ्चालन गरेका उइरोवनहरुमा पैसा तिरेर गर्नु पर्दो रहेछ, जसको रिपोर्ट ८/१० घण्टा मै पाइने रहेछ । पिसीआर चेक जाँचको शुल्क हस्पिटल र ठाउँ अनुसार ८०/९० हजार देखि २ लाख कोरियन वन सम्म लाग्ने गरेको रहेछ ।

टिकट बन्ने बित्तिकै फ्लाइट निश्चित भएपछि बेलुकी ५ बजे तिर नै हस्पिटल गएर १ लाख ५३ वन तिरेर कोरोना चेक जाँच गरियो, जसको रिपोर्ट भोलि पल्ट पाइने भयो।

 

भोलि पल्ट बेलुका एयरपोर्ट पुगि सक्नु छ । बिहान अफिस खुल्ने बितिक्कै अफिसमा गएर मेनेजरलाई भने, जहाज काठमाडौं जाने भयो। भोलि बिहान ५ बजे प्लेन चढ्न आजै बेलुकी एयरपोर्ट पुगि सक्नु पर्ने भएकोले दिउँसो सम्म जसरी पनि हिसाब किताब मिलान गरी दिनु हुन अनुरोध गरे। कम्पनीले पनि सोही अनुसार समय मै मेरो सबै कुरा मिलान गरी सहयोग गरी दियो।

 

यसैगरी कोरियामा रोजगार अवधी समाप्त भई कम्पनीसंगको हिसाब मिलान तथा बीमा इत्यादि व्यवस्थापन का लागि कोरियाको श्रम तथा रोजगार बिभाग (खोयोङ नोदोङ्बु) मा निवेदन दिनुपर्ने हुन्छ, त्यसको लागि स्वदेश फिर्तीको फ्लाईट टिकट अनिवार्य चाहिन्छ। त्यहाँबाट औपचारिक रुपमा रोजगार समाप्तिको पत्र पाएपछि उक्त पत्र, पासपोर्ट, परिचय पत्रको कपी, बीमा रकम भुक्तानी नेपालको बैंकमा वा कोरियाको एयरपोर्टमा जता लिन चाहने हो त्यतैको आफ्नो नामको क बर्गको बैंकको छाप सहितको एकाउन्ट नम्बर भएको पासबुकको कपी सहितको आवेदन पत्र लाई सामसुङ बीमा कम्पनीमा फ्याक्स गरेर त्यहाबाट डकुमेन्ट चेक जाँच गरी सकेपछि रकम भुक्तानी को प्रक्रिया अगाडी बढ्छ।

 

ईन्छन बिमानस्थलमा बैंकहरु बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्र खुल्ने भएकाले रातीको फ्लाईट हुँदा बेलुका एयरपोर्टमा इमिग्रेसन भित्र ९ बजे भन्दा अगाडी छिर्न नसक्ने अवस्थामा भुक्तानी नेपाल कै बैंकमा लिने गरी आबेदन गर्नुपर्ने हुन्छ ।

सबै कुरा मिलाई सकेपछि कम्पनीमा बिदा वारी गरी राती नै एयरपोर्ट पुगियो । राती १२ बजे तिर यो चार्टर्ड फ्लाईटको व्यवस्थापनमा जुट्नु भएका एनआरएन कोरियाका पदाधिकारीहरु डा बिमल सुबेदी पूर्व अध्यक्ष एवं व्यवसायी बिनोद कुँवर लगायतले उडानको व्यवस्थापनमा खटिएर यात्रुहरुको आवश्यक कागज पत्र मिलान र यात्रा तथा क्वारेन्टाइन प्रक्रियाबारे ब्रिफिङ गर्दै बिहान सम्म खटिनु भएको थियो ।

 

 

 

बिहान ५ बजे ईन्छन विमानस्थलबाट उडेपछि नेपाल पुगिनेमा ढुक्क भईयो । भिषा अवधी सकिएर बिदेशमा साथीहरुको महिनौं दिनको अन्योलता, छटपटी र घर परिवारको चिन्ता हट्यो। यसको लागि उडान सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाहका लागि नेपाली राजदुतावास सउल, एनआरएन कोरिया र सम्बन्धित ट्राभल एजेन्सीहरुलाई धन्यबाद दिएर बिदा भयौं । तर हाम्रो अगाडीको अन्योलता कायमै थियो । नेपालमा दिन प्रतिदिन कोरोना को प्रकोप बढ्दै गईरहेको अवस्थामा नेपाल पुगेपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले कस्तो ठाउँमा बस्नुपर्ने हो, कतै बाटो मैं पो कोरोना लाग्ने हो कि भन्ने अर्को डर मनमा लाग्न थाल्यो । आउने बेलामा ईन्छन बिमानस्थलमा बुटवलको एक जना भाई उहाँको श्रीमतीलाई नेपाल पठाउन छोड्न आउनुभएको थियो । बाटोमा आईपर्ने समस्या र क्वारेन्टाइनको अन्योलताबारे उहाँ सार्है चिन्तित हुनुहुन्थ्यो । उहाँले दाई बाटोमा केही समस्या पर्यो भने वा काठमाडौं मैं क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आयो भने बहिनीलाई सहयोग गरी दिनु हुन अनुरोध गर्दै मेरो सम्पर्क नम्बर मागें । मैले उहाँलाई चिन्ता नलिन र त्यस्तो केही समस्या आई हाले हामी सहयोग गरी हाल्छौं भनेर आस्वस्थ पार्ने प्रयास गरे। सबैको मनमा उस्तै चिन्ता थियो ।

 

करिब बिहान ८:१५ तिर त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा ओर्लियौं । आवश्यक चेक जाँच र लगेज रिसिभ पछि नेपाली सेनाले अलग अलग प्रदेशमा पठाउनको लागि छुट्टाछुट्टै बस को व्यवस्था गरेको रहेछ । हामीलाई ३ नम्बर प्रदेशको बसमा राखेर बसुन्धरा स्थित यति पार्टी प्यालेसमा पुर्याइयो । त्यहा पुगेर सामान्य चेक जाँच गरी सकेपछि खाना खाएर होम क्वारेन्टाइनमा बस्न चाहनेहरुलाई एक जना अभिभावक बोलाएर जिम्मा लगाएर पठाइयो र होटलमा बस्न चाहनेहरुलाई होटलहरुमा पठाइयो । कोरियाबाट फर्किनेहरु सबै कोरोना पिसीआर टेस्ट गरेर आएकोले त्यति कडाई नगरिएको पाइयो। बिमानस्थल देखि क्वारेन्टाइन सम्मको सम्पूर्ण व्यवस्थापन नेपाली सेनाले गरिरहेको थियो । सरकारले उपलब्ध गराएको स्रोत साधन र जनशक्तिले भ्याए सम्म सेनाले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएको र व्यवस्थापनमा खटिएका सैनिकहरूको व्यवहार एकदम राम्रो लाग्यो । सबैलाई धन्यबाद भन्दै होम क्वारेन्टाइन तिर लागियो।

लेखक खेम साउद :

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय