Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

उडानको पर्खाईमा ईपिएस कामदार !

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल ।कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे ।

उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ महिना भयो ।३ महिनाभित्रै उडिसक्नुपर्ने भए पनि लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा अन्योलमा छन् । उनीजस्तै १ हजार २ हजार नेपाली कोरिया आउने तयारीमा छन् ।दक्षिण कोरियामा पनि ईपीएसमार्फत आएका ३ हजार ४ सयभन्दा बढी नेपालीको भिसा सकिएको छ । यो महिनाको अन्तिमसम्म ४ हजार ५ सय ३० जनाको भिसा सकिनेछ । अप्रिलमै भिसा सकिने नेपालीले न त काम गर्न पाए न त घर जान ।लामो समय बस्दा खर्चिलो कोरियामा अनेक समस्या भोगिरहेको सुभाष ढकालले अनुभव छ । ‘हामीलाई पहिला भिसा ५० दिनको दिएको छ । त्यसपछि भने एलिएन कार्ड (विदेशी परिचयपत्र) समेत अध्यायगमन विभागमै राखेर एउटा पेपर दिएको छ,’ उनले गुनासो गरे, ‘हामी आफै पैसा तिरेर नेपाल जान्छौं । त्यहाँको सरकारले तोकेको सबै नियम मान्छौं भन्दा पनि केही वास्तै गरिएन ।कहिलेसम्म यसरी बस्ने हो ?’

कोरियाको रोजगारदाता कम्पनीले क्वारेन्टाइनमा बस्ने व्यवस्था गरे ईपीएसमार्फत कोरिया आउन चाहनेलाई कुनै समस्या छैन । कोरोना महामारीका कारण विदेशबाट आउने सबै यात्रुले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नैपर्ने नियम छ ।

कम्पनीहरुले कामदार छनोट गरेको भए पनि कोरोनाका कारण अहिले नेपालबाट कामदार नल्याएको हुन सक्ने छाङवन विदेशी कामदार सहयोग केन्द्रकी स्नेहा लामाको ठम्याइ छ । ‘अहिले भियतनामबाट कामदार ल्याउन सुरु गरेको छ । नेपाल सरकारले कामदारलाई पठाउन पहल गरे ईपीएसमार्फत कोरिया आउन कुनै समस्या छैन,’ उनले भनिन् ।धेरै युवाहरुको आकर्षक वैदेशिक रोजगारीको गन्तव्य हो कोरिया । यहाँ काम गर्दै आएका र घर बिदामा नेपाल गएर उतै बस्ने युवाको संख्या पनि ५ सयभन्दा बढी छ । राजीव घिसिङ त्यसैमध्येका एक हुन् । ‘म आएको ४ महिना भयो । घरैमा बसिरहेको छु ।

Trip

एक महिनाको छुट्टीमा आए पनि प्लेन नभएकाले जान सकिएन,’ उनले भने, ‘प्लेन चार्टर गरेर जाने भन्ने हल्ला पनि चल्छ । निकै तनावमा छु ।’नेपालबाट कोरिया आउने र कोरियाबाट भिसा सकेर नेपाल जान चाहने नेपालीको संख्या धेरै छ । ईपीएसमार्फत ४ वर्ष १० महिना काम गरेपछि अनिवार्य स्वदेश फर्कनुपर्ने एचआरडी कोरियाको नियम छ । यसरी स्वदेश फर्किएका मध्ये कम्पनी परिवर्तन नगरी बसेका कामदार ३ महिनापछि कम्पनीले चाहेमा फेरि कोरिया आउन सक्छन् । यसरी कोरिया आउने कामदारले कुनै पनि परीक्षा दिन पर्दैन । ‘मैले रेगुलर काम गरेको हो ।

कम्पनीले पनि ३ महिनापछि आउनु भनेर मलाई लेटर दिएको थियो । मार्चमा घर गएर आउनुपर्ने मान्छे अहिले पनि कोरियामै छु,’ सोल नजिकैको सहर इछनसीमा काम गर्ने दीपक खड्काले भने, ‘अब ई ९ भिसा नै छैन जस्तो छ । ३ चोटी त भिसा थपिसक्यो ।’ ईपीएसमार्फत आउने कामदारलाई दिने भिसा ई ९ भिसा हो ।दुईतर्फी नै यात्रु भए पनि सरकारले चासो नदेखाएको धेरैको गुनासो छ । ‘हामीले कोरियाका लागि सरकारले प्लेनको व्यवस्था गरिदिनु, लाग्ने पैसा हामी तिर्छौं भन्यौ ।

तर काम केही भएन,’ नेपालबाट दैलेखका अजय सोडारीले भने । उनी पनि कोरियामा आउने पर्खाइमा छन् ।भिसा सकिएका नेपालीको विवरण लिएर सरकारलाई पठाउन लागेको नेपाली राजदूतावास सोलको भनाइ छ । ‘हामीले नेपाल सरकारले छिट्टै कोरियामा भएका भिसा सकिएका नेपालीलाई पनि लैजान्छ । केही समय कुर्नुपर्‍यो,’ कार्यवाहक राजदूत रामसिं थापाले भने ।भिसा सकिएका नेपालीलाई केही कम्पनीले खिसुक्सा (कम्पनीको होस्टेल) मै बस्न दिए पनि धेरैलाई बस्नको समस्या छ ।

‘मेरो मार्च २७ मा घर जाने टिकट थियो । त्यही बेलादेखि कम्पनी छाडेर बसेको छु,’ जीवन मगरले भने, ‘कहिले साथीसँग जाँदा खासै खर्च नभए पनि सेल्टरमा बस्दा दैनिक ५ हजार जति खर्च हुन्छ ।’कोरियामा एउटा कम्पनी छाडेर अर्को नपाउन्जेलका लागि बस्न विभिन्न संघसंस्थाले ‘सेल्टर’ खोलेका छन् । नेपाली रेस्टुरेन्टले खोलेको सेल्टरमा बस्दा ‘इन्ट्री फी’ भनेर १० हजार लिइन्छ । खाना पनि त्यहीँ खानुपर्ने नियम छ । नेपाली रेस्टुरेन्टमा एक छाकको ८ सय देखि १२ सयसम्म पर्छ । कोरियामा भिसा सकिएका नेपालीको अर्को टाउको दुखाइ यहाँको इन्स्योरेन्स पोलिसी पनि हो । वैधानिक रुपमा ६ महिना कटेका सबैले मासिक १२ हजारभन्दा बढी तिर्नुपर्छ ।फोनिज कोरियाबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय