अरे वा, सामाजिक संजालका भित्ताहरुमा
आम फेसबुके युवा नेताहरु छादिरहन्छन्
आन्द्राभुडी निचोर्नु निचोरेर ह्वालह्वाल्ती
अनि दैनिकी गन्हाउनु गन्हाइरहेका छन्
छ्या, तिनै संजालका भित्ताहरु डुङडुङ्ती ।
मानिलिनुस् फेसबुकेहरुले फेर्ने गरिरहेको
स्वतस्फूर्त स्वाभाविक श्वासप्रश्वासमा पनि
हो, प्राणको पहिलो शर्त अक्सिजन समेत
कुन्नी उतै सानेपा अनि धुम्बाराहीतिरबाटै
निशुल्क उपलब्ध हुने गरेको छ कि क्यारे ।
तिनिहरुले हिजोआज गुहु सौच गर्दैनन् रे
के के हो के के नानाथरी वादका लिडहरु
बर्साउने गर्छन् रे नि सौच गरिरहदा पनि
हैन, तिनिहरुको आम परिचय के हो त?
लौ न रनभुल्ल पारिदिन्छन् रास्ट्रवादिहरु ।
पट्टकै देख्दैन देख्दैन तिनका नयनदृस्ठीले
सत्ता, प्रतीपक्ष, दाना र मानादाता बाहेक
खै, निर्देशन यस्तै छ कि त कुन्नी केन्द्रबाट
कनिकनी, जोडबल गरिगरि जतिसक्छौ
आफ्नालाइ ढाक्नु ढाक, अरुलाइ नङ्याउ ।
मान्नुहुन्छ? फेसबुकेहरुका यौनाङ्गहरुबाट
देशले कोल्टो फेरेसङ्गै मुत्र र बिर्य होइन
रास्ट्रबादी होलिवाइन नै स्खलित हुन्छ रे
अनि अनुत्पादक समाजवाद चुहिन्छ रे
यद्यपि गज्जब निस्फिक्री छन् फेसबुकेहरु ।
अब भनौं तिनिहरु आम युवा हुँदै होइनन्
यदि यसो होइन भने पनि के हुन् उनिहरु?
खै कुन्नि, टोले पार्टी प्रवक्ताहरु पो हुन् कि?
अझै भनौं, झोले कार्यकर्ताहरु पो हुन् कि?
खैर, जे होउन् , अन्ततः फेसबुकेहरु नै हुन् ।
देश चुस्याहा पार्टिहरुका पाल्तु बथानहमा
भुल्न अनि डुल्न रुचाउने फेसबुकेहरुका
साथिभाइ, सुभचिन्तक र इस्टमित्रहरुका
आमसर्कलहरु लोपारिदा, कोपरिदा समेत
दुर्भाग्य यहि रह्यो, कुर्लिरहेकै छन अझैपनी ।
भुटेका १ मुट्ठी ठेलामा र कापिका पन्नामा
निश्वार्थ र निशर्त गरिएका बाल्यकालका
तीनै बाल्यकालिन गठबन्धनहरुलाई पनि
पार्टिको झन्डामा ओतिने थेचिने बित्तिकै
तिलान्जली दिन अभ्यस्त छन् फेसबुकेहरु ।
के दिन्छ फेसबुकेलाइ रोइलो र बुर्कुसिले?
न त आशन नै दिन्छ न त रासन नै दिन्छ
अब सामाजिक गठबन्धनहरु चाहिदैन रे
मर्दा र पर्दाका जन्ती र मलामीहरु समेत
उतै पार्टी मुख्यालयबाटै खटाइदिन्छन् रे ।
कृपया कत्तिपनी भ्रमित हुँदै नहुनुहोला नि
अब त दुखकस्टमा ऐचोपैचो गर्नै पर्दैन रे
फेसबुकको बुर्कुसीलाई मुल्यांकन गरि
हेलिकप्टरबाट नै बर्साइदिन्छन् कि कुन्नी
खै पार्टिहरुले सद्भाव आगनले थेगुन्जेल ।
उहिले पहिले त बाउ बाजेहरुका जुगमा
परेलीमा जग्गाको सेरोफेरो मात्रै होइन
गोरुको, हैसियतको दामल मिल्नुपर्थ्यो
हो, अहिले यिनै फेसबुकेहरुका पाला
गोरुका झन्डाहरु नमिलेरै परेली टुट्छ ।
जुगैभरि बाआमाको काध खियाएका
तीनै घरका धुरी, दलिनहरु माक्किएर
त्रास उस्तै कहिले भासिन्छ ओतिने सन्सार
मात्र यत्ती पिरले बेचैन रहन्छन् बाआमा
त्रासमा जिउन बाध्य छन् सिङ्गो बर्खाभरी ।
मै बिज्ञ, सर्वज्ञ, मै जान्नेसुन्ने फेसबुकेहरु
निस्फिक्री त्यही छानामुनी थच्च थेचारिएर
पट्टक्कै चिन्तै नमानी, कत्ति टन्टै नमानी
बनाइरहेछन् दिनहुँ सामाजिक संजालमा
करोडौं अनि अर्बौंका गगनचुम्बी महलहरु ।
खै, किन बित्थामा फुर्मान छन् फेसबुकेहरु?
भुलिरहेकै त छन् रनभुल्ल परि दैनिकैजसो
पाएसम्म, भ्याएसम्म मन्चका आसनहरुमा
अह, लाजै नमानी गड्गडाइरहेछन् ताली
देश चुस्याहाहरुका कौडिका भाषणहरुमा ।
—————————————————–
✍️रमेश रोकाहा (सदाजित)
दरौ-२, कुन्चेबारी, स्याङ्जा