दुईचार जना साथिहरू आत्तिएर फोनमा गफगाफ गर्दा मैले त जे पर्छ यतै भोगिन्छ, केही भइहाल्यो भनेपनि आफ्नो देशमा भन्दा यतै व्यवस्था राम्रो होला, प्रविधि छ, व्यवस्थापन छ आत्तिएर भएन, साधारण भन्नेगरेको सावधानी अपनाउने बस्ने हो भनेर भनेको थिएँ । सायद अहिले साथिहरुले पनि त्यही भनेर चित्त बुझाउनुभएको होला।
हुनपनि कोरियाले, कोरोना विरुद्धको युद्ध भन्दै २५ अर्ब अमेरिकी डलरको रकम छुट्यायो। सबैभन्दा प्रभावित शहर थेगु लगायत अन्य क्षेत्र, कम्पनी, सार्वजनिकस्थल लगायत ठाउँ ठाउँमा भाइरस नियन्त्रणको लागि स्प्रे छर्कने गर्दै आएको छ।
कोरोना बाट जोगिन अपनाउनुपर्ने सावधानीको सुचनाहरू दिनमा पाँच छ पटक मोवाइलमा म्यासेज पठाउने गर्यो र गर्दै छ। कहाँ कति संक्रमित छन् र कुन कुन रुटबाट तिनीहरु हिँड्ने गरेका थिए भन्ने सबै डिटेल मोवाइलमा पठाउन सुरु गर्यो र गर्दै आएको छ। कोरोनाको लक्षण सँग मिल्दोजुल्दो समस्या देखिए सिधै हस्पिटल नगएर पहिला म्यासेजमा पठाएको नम्बरमा फोन गर्न पठायो । नेपालमा के NTC र NCELLले लोन, भ्वाइस प्याक र डाटाको म्यासेज बाहेक चेतनामुलक/सावधानी म्यासेज पठाउने गरेको छ? यति हुँदाहुँदै पनि कोरियन नागरिकहरू कतै कतै मास्क नलगाई हिडेका हुन्छन्।
संक्रमण फैल्याउन भूमिका खेलेको भन्ने आरोप लागेको चर्चका अधिकांश सदस्यहरुको डिटेल लिएर निरन्तर फ्लोअप गर्यो, उक्त चर्चका उच्च सदस्यहरू विरुद्ध मुद्दा पनि दायर गरेको छ।
एउटा सानो भन्दा सानो शहरको सार्वजनिक स्थल खासगरी बसपार्क र रेल स्टेशनमा सम्भावित कोरोना रोगी पहिचान गर्ने अत्याधुनिक मेशिन सहितको टोली निरन्तर खटिएका देखिन्छ ।
मास्क विक्री पनि कुनै व्यक्तिले अनावश्यक धेरै जम्मा गरेर नराखोस् र व्यापारिले मुल्य वृद्धि नगरोस् भनेर हप्ताको एक पटक किन्न पाउने गरी निश्चित मात्रा र निश्चित तोकिएको मुल्यमा परिचय पत्र देखाएर मात्रै किन्न पाउने व्यवस्था गर्यो।
मार्चको सुरुवाति हप्तातिर चीनपछि दोस्रो प्रभावित देश बनेको कोरियामा अहिले विस्तारै नियन्त्रण हुँदै गरेको जस्तो अवस्था देखिन्छ।
अन्यत्र युरोप, खाडिमुलुक, मलेसिया जस्तो सपिङ सेन्टरहरुमा खाद्यान्न लगायत दैनिक उपभोग्य सामानहरूको अभाव भएको पनि छैन। सायद यहाँ आफ्नै कृषि उत्पादन र वितरण प्रणालीमा उत्कृष्ट व्यवस्थापनको प्रतिफल होला त्यस्तो अभाव हुने अवस्था अहिलसम्म देखिएको छैन।
सबैलाई मेरो जस्तै परिस्थिति नहुन सक्छ । म आफू बजार गएन भने बाहिरको अन्य मान्छेहरु सँग संसर्ग हुनुपर्ने अवस्था छैन। कम्पनीको आँगनमा कन्टेनर छ। उठ काममा जाउ, आउ कन्टेनरमा सुत, मोवाइलमा दुनियाँ पढ, लेख। एक हिसाबले कम्पनी र कन्टेनर आफै आइसोलेशन जस्तै हो, सेल्फ क्वारेन्टाइन भनौँ। अन्य माध्यमबाट संक्रमण फैलियो भने त्यो भन्ने गरेको भगवान जानुन्। यसरी नै चित्त बुझाइयो ।
तर यहाँ सबैको परिस्थिति उस्तै पक्कै छैन । मेरो भिसा छ भनेर अरुको छ नै भन्ने छैन । कसैको यहि कोरोनाकै कारण कम्पनी बन्द भएको होला । कसैको मन कमजोर होला जे भएपनि आफ्नै देश जाऔं, परिवार सँग बसौँ भन्ने ठानेर टिकेट लिएका होला। ल ठीक छ नेपाल सरकारले त कोरोना प्रभावित देशबाट आफ्नै नागरिकलाई आउन रोक लगायो तर यि माथि उल्लेखित परिस्थितिमा ति नागरिकलाई के गर्ने? सम्बन्धित देशले भिसाको ओभरस्टे शुल्क लियो भने र त्यो तिर्न नसक्ने अवस्था छ भने के हुन्छ? (धन्न कोरियाले त ५० दिन थप गरेको छ क्यारे) यसबारे जानकारी ति नागरिकलाई कसले दिनुपर्ने हो? तिनै नागरिकको पसिना बाट चर्को सेवासुविधा भोग गर्ने नेपाली दुतावासका राजदुत र कर्मचारीहरुले र सुचना दिनुपर्छ कि पर्दैन?
विदेशी नागरिकलाई प्रतिबन्ध ढिलैभएपनि लगायो ठीक छ। नेपाली नागरिक खासगरी भिसाको म्याद सकिएका र कम्पनी बन्द भएकाहरुलाई कम्तिमा मलेसिया,जापान, कोरिया र खाडी लगायतको देशबाट फर्कन चाहाने नागरिकहरुलाई फर्कन दिनुपर्छ कि? वा यो अवस्थामा के गर्ने भन्ने जानकारी दिनुपर्ने होइन र? यसको लागि सरकारले विमान चार्टड गर्न जरुरी छैन। तर नेपाल एयरलाइन्सले हप्तामा एक-एक दिन पालो गरेर भएपनि दुवै, कतार, साउदी, मलेसिया,बहराइन, कुवेत,जापान,कोरिया लगायत देशबाट आउन चाहाने नागरिकलाई नेपाल आउन दिनुपर्छ र तिनलाई चीनबाट ल्याइएकाहरुलाई जस्तै कडा निगरानीमा राखेर मात्रै घर पुग्न दिनुपर्छ। हप्तामा दुईचार जना आफ्ना नागरिकको यति गर्न सकिन्न भने सरकार, हाम्रो राज्य संयन्त्र किन र कसका लागि?
देशमा सरकार छ कि छैन? राज्य संयन्त्र कति प्रभावकारी छ? कठिन परिस्थितिमा सरकारले नागरिक माथि कति प्रभावकारी र भरोसायोग्य काम गर्छ? कति दुरदर्शी र परिपक्व निर्णय लिन्छ र कार्यन्वयन गर्छ सायद जनताले अनुभूत गर्ने त यस्तै समय परिस्थितिमा हो क्यारे?
स्रोत डोलु आले मगरको फेसबुकबाट